News

प्रदेश १ को पहाडि जिल्लामा पनि सुरु भयो अक्सिजन उत्पादन

प्रदेश १ को पहाडि जिल्लामा पनि सुरु भयो अक्सिजन उत्पादन

ओखलढुंगामा अक्सिजन उत्पादन शुरु भएको छ । देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजन अभाव भइरहँदा ओखलढुंगामा यसको व्यवस्थापन शुरु गरिएको हो । 

ओखलढुंगा सामुदायिक अस्पतालले दुई वर्षदेखि मिनिप्लान्ट सञ्चालन गर्दै आएको छ । यसबाट दैनिक आठ सिलिण्डरसम्म भर्न सकिने भएकाले जिल्लामा सहज भएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए ।

अस्पतालमा हाल ४० वटा सिलिण्डर रहेका छन् । ती सिलिण्डर भरेर संचित राख्ने तथा जिल्ला बाहिरबाट समेत मगाएर राख्ने तयारी थालिएको निर्देशक आचार्यको भनाई छ । उत्पादनलले ओखलढुंगा जिल्लासहित छिमेकी जिल्लाहरु सोलुखुम्बु र खोटाङलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ । पहाडी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने यो प्रदेशकै पहिलो अस्पताल हो ।

जिल्लामा उद्योग वाणिज्य संघले २५ थान खरिद गरेर भर्न पठाएको छ । संघको कार्यालयमा अक्सिजन सहितको आइसोलेशन निर्माण थालिएको छ । संघको कार्यालयमा १० श्यया अक्सिजनसहितका हुनेछन् । संकटको अवस्थामा संघको भवनलाई आइसोलेशन वार्डका रुपमा विकास गर्न लागिएको अध्यक्ष ज्ञानेन्द मास्केले बताए।

जिल्ला अस्पताल रुम्जाटारमा रहेका १९ थान सिलिन्डरमा समेत अक्सिजन भरेर तयारी राख्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । जिल्लामै उत्पादन हुने भएकाले अत्यावश्यक अवस्थामा अक्सिजन अभाव हुन नदिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताए।

ओखलढुंगा सामुदायिक अस्पताल तथा सांसदको पहलमा २०७४ सालदेखि जिल्लामा  अक्सिजन प्लान्ट सञ्चालनमा छ । सङ्घीय सांसद यज्ञराज सुनुवारले अक्सिजन प्लान्ट उद्घाटन गरेर कार्यकाल शुरु गरेका थिए। उनले अघिल्लो कार्यकालमा प्लान्ट स्थापनाका लागि बजेट विनियोजन समेत गराएका थिए। 
(रासस)
 

विशेष