News स्वास्थ्य

कोरोनाको उपचार गर्ने अस्पतालको हालः पुर्वाधार थपियो–जनशक्ति उही

कोरोनाको उपचार गर्ने अस्पतालको हालः पुर्वाधार थपियो–जनशक्ति उही

प्रदेश १ मा कोरोनाका संक्रमितको संख्या थपिने दर दिनदिनै वढिरहेको छ। संक्रमित थपिन थालेपछि आईसोलेसन, अस्पतालमा वेड लगायतका पुर्वाधार पनि थपिदै छन। तर, पनि संक्रमितले उपचार नपाएर मर्नु पर्ने घट्नामा भने कमी आएको छैन ।

प्रदेश १ मा विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्र, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची अस्पतालसहित केही निजी अस्पतालहरूमा कोरोना सङ्क्रमितहरूको उपचार हुँदै आएको छ।

प्रदेश १ मा शैय्या र अक्सिजन नपाएर अन्य प्रदेशका सङ्क्रमितहरू पनि उपचारका लागि आउने गरेका छन् । प्रदेश १ मै संक्रमितको संख्या वढिरहेको तथा अन्य प्रदेशवाट पनि जटिल प्रकृतिका विरामी थपिने क्रम वढेपछि हाल उपलब्ध श्रोत साधनले धान्न मुस्किल परिरहेको छ। त्यसमाथि पनि अन्य सवै कुराको ब्यवस्था गर्ने तर, जनशक्ति थप नगर्ने गरिएका कारण उपचार सेवा प्रभावित भईरहेको सम्वन्धित अस्पतालले जनाएका छन् ।

विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रका डा. दीपक सिग्देलले अस्पतालमा जटिल प्रकारका सङ्क्रमित बढ्दै जाँदा सीमित जनशक्तिले उपचार गर्न भ्याई नभ्याई भएको वताए । अस्पतालमा बिरामी र शैय्या चाहिँ थपिने तर जनशक्ति नथपिदा गाह्रो भएको उनको अनुभव छ। अहिलेको उपचार प्रकृया पहिलाको झै सामान्य नभएको वताउँदै उनले भने–‘पीपीई लगाएर चौबिसै घण्टा खट्न कसरी सकिन्छ ?’

मेची अस्पताल झापाका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले पर्याप्त जनशक्ति र बजेट नहुँदा जटिल प्रकृतिका संक्रमतिहरुलाइ अन्यत्र पठाउने गरिएको बताए ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या ११ हजारभन्दा बढी छ। तीमध्ये करिब पाँच सय सङ्क्रमित विभिन्न अस्पतालहरूमा उपचाररत छन्। प्रदेश १ मा कोरोनाका कारण ६२७ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ।

विशेष