News

पत्रकारले नै गरे रक्तदान !!

पत्रकारले नै गरे रक्तदान !!

कोरोना संक्रमितको संख्या दिनहुँ बढे सँगै अस्पतालमा रगत चरम अभाव देखिएको छ। यो अभावको पूर्तिका लागि विभिन्न तीन वटा संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

निषेधाज्ञा कै बीचमा आकस्मिक रक्तदान शनिवार सम्पन्न भएको रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संगलन भएको छ। रक्तदाताहरु मध्ये अधिकांश पत्रकार छन्। विभिन्न अनलाइन, टेलिभिजन र प्रिन्ट मिडियाका ११ जना पत्रकारले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले जानकारी दिए ।

रक्तदानमा पुरुष भन्दा महिलाको संख्या बढी देखिएको थियो। करिब २ घण्टा चलेको कार्यक्रममा २३ पिन्ट रगत जम्मा गरिएको आयोजक श्रेष्ठले बताए। 

सामान्य गर्भवती महिला र अप्रेसन गर्नुपर्ने बिरामीका लागि समेत रगत अभाव भएपछि अप्रेसन र अन्य उपचार सेवा रोकिन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

आगामी दिनमा पनि हरेक दुई–दुई हप्तामा रगत संकलन गरेर रेडक्रसलाई बुझाउने तयारी गरिएको आयोजकको भनाई छ। ‘निषेधाज्ञाकाबीच हामी बाहिर निस्कन सक्ने अवस्थामा छैनौं । तर अत्यन्त आकस्मिक पर्यो भने जीवनरक्षाका निम्ति जस्तो पनि सहयोग गर्न तयार छौ’ अध्यक्ष श्रेष्ठले भने–‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फेरी पनि रक्तदान कार्यक्रम आयोजना गरिने छ ।’

रक्तदान कार्यक्रम अटो नेपाल, सहयोगी महिला जागरण मञ्च र लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डको संयुक्त आयोजनामा रातोपुलमा भएको थियो। यस कार्यक्रममा सहभागी हुन बुढानिलकण्ठदेखि भक्तपुरसम्मका रक्तदाता आएका थिए ।

फेसबुकमा जानकारी पाएकै आधारमा रक्तदान कार्यक्रममा सहभागि भएकाहरुलाई आयोजक श्रेष्ठले धन्यवाद दिएका छन् ।


विशेष