निर्ममतापूर्वक आत्मसमीक्षा गर्ने दिन,आज जेठ ३
आज जेठ ३ गते, २८ वर्षअघि आजैका दिन एमाले महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय ढंगले जीप दुर्घटनाबाट निधन भएको ।
तीन वर्षअघि एमाले र एमाओवादी एकता भएर नेकपा बनेको दिन पनि आजै हो । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको बहुलीय जनवादलाई तिलाञ्जली दिइएको थियो ०७५ जेठ ३ गते ।
एमाओवादीले पनि २१ औं शताब्दीको जनवादलाई तिलाञ्जली दिएर जनताको जनवादका नाममा मुठ्ठी उचालेको दिन हो आज ।
२०७५ जेठ २ गतेसम्म एमालेभित्र पार्टी एकता हुने वा नहुनेबारे एकाधबाहेक कसैलाई थाहा थिएन । पूर्व प्रधानमन्त्री तथा पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता झलनाथ खनाल अघिल्लो दिन २ गते मात्र उपचारको निम्ति चीन जानुभएको थियो । तर,एक्कासी भोलिपल्ट बिहानै पार्टी एकताको घोषणा गरियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड दुबैको छापामार शैलीमा निर्णय गर्ने प्रवृत्तिबाट तीन वर्षअघि बिना पर्याप्त साङ्गठानिक र बैचारिक तयारी,पार्टी एकाएक एकीकृत भएको हो । तर हतारोको र स्वार्थकेन्द्रित त्यो एकता तीन वर्ष नपुग्दै तुहिएको छ ।
तर पनि नेपालमा कम्युनिष्ट पार्टी फेरि एक हुनेमा पूर्ण विश्वास राख्ने वामपन्थीहरू धेरै छन् । २०४६ सालमा संयुक्त वाममोर्चाको अवधारणा लागू गरिएपछि जनान्दोलन सफल भई २०४८ देखि सबै वाम एक ठाम भन्न थालिएको हो । कतिपय ठाउँमा त्यसपछिका चुनावमा तालमेल पनि हुँदै आएको छ ।
कुुनैपनि कोणबाट वामपन्थी नरहेका हृदयेश त्रिपाठी बृजेशकुमार गुप्ता समेत सूर्य चिन्हबाट जिताइएकै छ । उनी एमाले सरकारमा अहिले पनि वामपन्थी मन्त्री छन् । त्यसैले अहिले नै कसैलाई पनि राजनीतिक रुपमा छिछि र दूरदूर गर्ने हतारो देखाउनु हुन्न भन्छन् जानकारहरु ।
अहिले एकातिर एमालेलाई बलियो र कसिलो बनाउने तयारी शुरु भएको छ । भोलि अन्ततः मदन भण्डारीले आजभन्दा अढाइ दशकअघि भनेकै धारमा वाम आन्दोलन हिँड्ने हो,जङ्गल यात्रा अब सहज छैन ।
माओवादी पनि अबको पहिलो चरणमा आफूबाट अलग्गिएका सबै टुक्रालाई एकत्रित गरेर सग्लो हुनैपर्छ । वैद्य समूह, विप्लव समूह र बाबुराम भट्टराई समूहलाई कमरेड पुष्पकमल दाहालले एकीकृत गर्नु जरुरी छ ।
त्यस्तो अवस्थामा एमालेबाट बेखुस भएको कुनै पनि पार्टी सदस्य वैकल्पिक कम्युनिष्ट पार्टीमा जानसक्छ । त्यसैगरी अर्को वैकल्पिक कम्युुनिष्ट पार्टीबाट बेखुश हुने जो कोही कार्यकर्ताले एमालेको संगठन प्लेटफार्म प्रयोग गर्नसक्छ । कम्युनिष्ट पार्टीहरूबीच सदस्य यताउता हुँदासमेत त्यसलाई प्राकृतिक ओहोरदोहोर मान्ने गरिन्छ ।
तर,कम्युनिष्ट पार्टी छाडेर कुनै पनि दक्षिणपन्थी वा पुँजीवादी पार्टीमा प्रवेश गरेको अवस्थामा त्यो कार्यकर्ता कहिल्यै उठ्न नसक्ने हाम्रै सन्दर्भमा धेरै उदाहरण देखिन्छन् ।
भीमबहादुर श्रेष्ठ, केशरमणि पोखरेल लगायतका व्यक्तित्वहरू त्यसैका गतिला उदाहरण हुन् । यस्तो अवस्थामा अहिले नेपालका कम्युनिष्टहरूलाई एउटा गतिलो मौका छ । उनीहरूका सामु निर्ममतापूर्वक आत्मसमीक्षा गर्ने बेला आएको छ ।
अहिले तत्काल चुनाव भइहाल्ने अवस्था छैन । चुनावको मिति नै तोके पनि त्यो हुने छाँट देखिँदैन । अब कम्तिमा दुई वर्ष मुलुक चुनावतिर जान सक्दैन । अहिलेको चलखेल चुनावको निम्ति हैन सत्ता दीर्घायुको निम्ति हो भन्नेमा सबै जना ढुक्क भए हुन्छ ।
सम्भवतः जेठ १५ अगावै प्रधानमन्त्रीलाई जसपाले विश्वासको मत दिने अवस्था बन्दै गएको छ । त्यसपछि दुई वर्षसम्म यो सरकारको निरन्तरता अवश्यम्भावी छ । यस्तो बेलामा फेरि पनि कम्युनिष्ट पार्टीको एकतालाई दिमागमा राखेर हिँड्ने हो भने सबैको कल्याण देखिन्छ ।
एसियामा चीनपछि कम्युनिष्ट पार्टीमा धेरै सदस्यता भएको देश नेपाल हो । त्यति धेरै जनसंख्या भएको भारतमा समेत कम्युनिष्ट पार्टीका सदस्य नेपालको भन्दा थोरै रहेको छ । स्रोतः जन आस्था