News

नगरपालिकाले वास्ता नगरेपछि स्थानीयले रोके खोला उत्खनन

नगरपालिकाले वास्ता नगरेपछि स्थानीयले रोके खोला उत्खनन

नगरपालिका कार्यालयले वेवास्ता गरेपछि स्थानीयवासीको पहलमा खोला उत्खनन रोकीएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ४ स्थित सर्दुखोलामा गिट्टी, बालुवा उत्खनन् गरिँदा धुलो उडेर समस्या भएको भन्दै स्थानीयले खोला उत्खननमा रोक लगाएका छन् ।

वडाको आन्द्रा मठस्थित खोलामा भइरहेको गिट्टी, बालुवा उत्खनन् रोक्न नगरपालिकाले चासो नदेखाएको भन्दै उनीहरूले खोला उत्खनन् बन्द गराएका हुन् । खोलामा करिब १५ दिनअगाडिदेखि सयौं टिपरले खोलाको गिट्टी र बालुवा ओसारिरहेका छन् ।

पटक–पटक जानकारी गराउँदासमेत नगरपालिकाले चासो नदेखाउँदा बाध्य भएर गाउँलेले खोलाको काम रोकेको नेकपा (एमाले) पार्टी १ नं. प्रदेश कमिटी सदस्य लक्ष्मण चौधरीले बताए ।

राज्यले समेत कोरोना महामारीमा भीडभाड हुने काम नगर्न र सङ्क्रमणबाट जोगिनुपर्ने भनेको तर, क्रसर र टिपर लगातार चल्दा स्थानीयलाई समस्या भएको उनले बताए ।

कोरोनाको विषम परिस्थितिमा सानालाई मात्र बन्द गराउने ठूलाले जे गरे पनि छुट दिइएको भन्दै चौधरीले जिल्ला प्रशासन, जिल्ला वन र वराहक्षेत्र नगरपालिकाको सहमतिमा यस्तो काम भएको दाबी गरे ।

खोलामा बिहान ३ बजेदेखि रातको ८ बजेसम्म टिपरले गिट्टी, बालुवा ओसार्ने गरेको र मुख्य सडक तीसबिघा, थापागाउँ, तीनकुने र धामडाँडालगायतका गाउँमा धुलो उडेर हैरान भएको स्थानीय पुष्पलाल राजधामीले बताए ।

यहाँ कोरोनाबाट २ जनाको मृत्यु भएकाले संवेदनशील बन्न आग्रह गरे । 

नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मनकुमार लिम्बूले अनुगमन गरेर कानूनी रूपमा खोलाको ठेक्का दिइएको तर, स्थानीयले अनावश्यक हस्तक्षेप गरेको बताए । गाउँमा धुलो उडेर समस्या भएको विषयमा नगरपालिकाले स्वास्थ्य मापदण्ड कायम गरेर बाटोमा पानी छिटेर गाडी चलाउन भनेको र त्यो उनीहरूले मान्नुपर्ने नगरप्रमुख खनालले बताए ।

नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ को बजेटको लागि राजश्व अन्तर्गत इटहरीको पाथीभरा कन्स्ट्रक्सनलाई १ करोड ३७ लाखमा ठेक्का दिइएको नगरको आर्थिक प्रशासन शाखा प्रमुख वीरेन्द्र यादवले बताए ।
 

विशेष