News

भारतीय खोप पाँच महिनापछि मात्रै नेपाल आउने, के होला नेपालको कदम ? 

भारतीय खोप पाँच महिनापछि मात्रै नेपाल आउने, के होला नेपालको कदम ? 

भारतले आगामी अक्टोबरअघि कोरोना भाइरसविरुद्धको खोप विदेश निर्यात नगर्ने भएको छ । स्वदेशको मागलाई मध्यनजर गर्दै भारतले यो निर्णय गरेको हो।

भारतको यो कदमले कोभ्याक्स संजालअन्तर्गत हुने भनिएको विश्वव्यापी खोप आपूर्ति प्रभावित हुने देखिएको छ । खरिदका लागि अग्रिम भुक्तानी दिइसकेका नेपाल, बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरुलाई थप समस्या पर्ने देखिएको छ ।

देशभित्रै संक्रमण र मृत्युको अवस्था भयावह बनेपछि भारतले गतमहिना खोप आपूर्ति रोकेको थियो । त्यसअघि उसले ६६ मिलियन डोज विश्वव्यापी वितरण गरिसकेको छ। 

नेपालले पनि भारतबाट २० लाख डोज ल्याएर खोप अभियान चलाएको थियो । नेपालले बाँकी १० लाख डोज कोभिसिल्ड खोप पाउन बाँकी छ । भारतले खोप निर्यात तत्काल नगर्ने भएपछि कोभ्याक्सले अन्य खोप उत्पादक मुलुकहरुलाई खोप आपूर्ति गर्न आग्रह गरेको छ । तर, विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुकले आपूर्तिमा ढिलाइ गर्ने भएपछि नेपालसहितका अन्य मुलुकले लामै समय कुर्नुपर्ने देखिएको छ ।

नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप आउने आशा थियो तर, कोभ्याक्सलाई पनि भारतीय खोप कम्पनी सिरमले नै दिने भएपछि त्यस च्यानलबाट खोप तत्काल आउने आशा टरेको छ ।

कोभ्याक्सले सिरमसँग १.१ बिलियन डोज अस्ट्राजेनेका खोपको सम्झौता गरेको थियो । 

विशेष