News स्वास्थ्य

प्रदेश २ मा भयावह वन्दै कोरोना, पुरानै खर्चको भुक्तानी वाँकी हुँदा तयारी सुस्त

वीरेन्द्र रमण

प्रदेश २ मा भयावह वन्दै कोरोना, पुरानै खर्चको भुक्तानी वाँकी हुँदा तयारी सुस्त

जनकपुर– प्रदेश २ मा कोरोना संक्रमण पुनः भयावह वन्न थालेको छ । पहिलो चरणमा बनाइएका क्वारेन्टाइन तथा आइसोलेशन बन्द भएका कारण दोस्रो लहर सुरु भएकाले ति संरचनाहरु पुनः तयार गर्नु पर्ने अस्था छ।

कोरोना संक्रमण दिनदिनै भयावह वन्दै गएपछि सर्वसधारणमा भने चेतना स्थतर वढेको छैन । प्रदेश २ का विभिन्न जिल्लाहरुमा अहिले पनि विवाह, नाचगान, भोज भतेर, पुराँण तथा मेला र जात्रा रोकिएका छैनन् । गाउँगाउँमा मेलाको आयोजना भईरहेको छ ।

कोरोना संक्रमण रोक्नको लागि सरकारले भिडभाड कम गर्न आग्रह गरेको छ । यसका बाबजुद महोत्तरीमा भने विभिन्न स्थानहरुमा भिडभाड भने कायमै छ । महोत्तरीको विभिन्न धार्मिक स्थलमा समय समयमा आयोजना हुने गरेको मेलामा भिड कम भएको छैन । मेला रोक्न कुनै  पनि निकायले ठोस निर्णय नगर्दा कुनै पनि बेला उच्च जोखिम बढने सम्भावना रहेको बताइएको छ ।

महोत्तरीको पडौलमा अहिले पनि मेला लागिरहेको छ। सर्वसधारणहरु भिडको साथै स्वास्थ्य सतर्कताको वेवास्ता गरी मेलामा सहभागि भईरहेका छन् । एकातर्फ खुला सिमा र अर्कोतर्फ सर्वसधारणहरुको भिडभाडका कारण प्रदेश २ मा कोरोनाको अत्याधिक जोखिममा छ । 
भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरु बताउँछन् । ‘भारतीय बजार जाने आउने क्रम चल्दै छ’ लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भने, –‘सीमाक्षेत्रमा हुने आवागमन नरोकिदाँ कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेको छ ।’

जोखिम बढ्दै गएपनि सो अनुसारको सुरक्षा साबधानी अपनाइएको भने देखिदैन्।  ‘‘भारतको बिहारमा समेत कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ”, लहानका स्थानीयवासी सत्यनारायण चौधरीले भने ‘‘छिमेकी जिल्लामा कोरोना फैलिरहेपनि सिरहामा स्वास्थ्य सुरक्षा साबधानी अपनाइएको देखिदैन्, फलस्वरुप कुनै पनि बेला कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने भएकाले नेपाल भारत सीमाक्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।”

एकातिर सीमासँग जोडिएका भारतको बिहार राज्यका विभिन्न स्थानमा कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल भारतीय सीमा नाकाहरु बन्द गर्नुपर्ने आवाज उठेपनि कार्यान्वयन नहुदाँ अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् । भारतको विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम पनि अझै रोकिएको छैन् । खुल्ला सीमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सिधैं परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रवल रहेको छ ।

अस्पतालहरुले खर्च गरेको भुक्तानी भएन
पहिलो लहरमा भने अस्पतालहरुले खर्च गरेको रकमको भुक्तानी अहिलेसम्म हुन सकेको छैन ।
कोरोनाको दोस्रो लहरको लागि आइसोलेसन निर्माणका साथै भेन्टिलेटर तथा अक्सिजनको तयारी सुरु भएको छ । दोस्रो लहरमा अक्सिजनको अत्याधिक माग बढेकोले प्रदेश सरकारले प्रदेशभर १४ वटा सरकारी अस्पतालहरुलाई ५÷५ लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । तर अस्पतालहरुले कोरोनाको पहिलो लहरको समयमा कोरोना नियन्त्रणका लागि गरेका कामहरुको भुक्तानी भने अझै बाँकी हुन सकेको छैन ।

कोरोनाको पहिलो लहरको समय अस्पतालहरुले गरेको आइसोलेसन निर्माण, बिरामीहरुका लागि उपलब्ध गराइएको औषधी, बिरामीहरुको खाना वापतको खर्च, करारमा खटेका स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता भुक्तानी हुन सकेको छैन ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आठ वटै जिल्लामा २०७७ असार मसान्तसम्मका लागि करारमा स्वास्थ्यकर्मीलाई नियुक्ति गरेको थियो । खटाईएका स्वास्थ्यकर्मीलाई पुनः आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर मन्त्रालयले थपेको अवधिको भत्ता भने अहिलेसम्म उपलब्ध गराउन सकेको छैन ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको मात्र २ करोड ९८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । त्यस्तै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालको २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । प्रादेशिक अस्पताल जनकपुरधामका लेखा अधिकृत जितेन्द्र प्रसाद यादवका अनुसार कोरोनाको पहिलो लहरको समयमा खटेका १ सय १२ जना स्वास्थ्यकर्मीहरुको ४ महिनाको जोखिम भत्ता २ करोड १५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

कोरोना महामारीको समयमा आफ्नो ज्यानको पर्वाह नगरी करारमा खटेका स्वास्थ्यकर्मीहरुको तलब स्केल बराबरको ४ महिनाको जोखिम भत्ता भुक्तानी हुन बाँकी रहेको छ । त्यस्तै कोभिड अस्पतालका लागि निर्माण गरिएको आइसोलेसनका लागि भएको खर्च मध्ये ७ लाख रुपैयाँ, बिरामीहरुको औषधी तथा खाना वापतको ७६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।


यता सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुुपरीटेन्डेन्ट रंजित झाले कोरोनाको पहिलो लहरको समयमा भएको खर्च मध्ये २० लाख रुपैयाँ भुक्तानी हुन नसकेको वताए ।

कोरोनाको पहिलो लहरमा खर्च भएको रकमको भुक्तानीका लागि बारम्बार मन्त्रालयलाई ताकेदा गर्दा पनि अहिलेसम्म हुन नसकेको उनले वताए । पुरानो भुक्तानी बाँकी रहेकोले यस पटक स्वास्थ्यकर्मीहरुले पनि करारमा काम गर्न इच्छा नदेखाएको उनी वताउँछन् ।

सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत दिलीप दासले एकपछि अर्को सचिवको सरुवा हुने गरेका कारण भुक्तानी हुन समस्या भएको बताए । कोरोनाको पहिलो लहर सुरु हुँदा कार्यरत रहेका सचिवले करारमा कर्मचारी नियुक्तिको अनुमति दिएको र त्यसपछि आएका सचिवले करारमा स्वास्थ्यकर्मी राख्ने प्रकृया नै नमिलेको भनेपछि भुक्तानी नै रोकिएको उनले बताए ।

प्रदेश मन्त्रिपरिषदको बैठकले दरबन्दी सिर्जना गर्नुपर्ने भए पनि पूर्व निर्धारित दरबन्दी अनुसारको करार अवधि समाप्त भइसकेपछि थप गरिएको समयावधिका लागि मन्त्रिपरिषद बैठकले दरबन्दी अनुमोदन नगरेको लेखाअधिकृत दासले वताए । यस सम्बन्धमा आफुहरुले प्रतिवेदन तयार गरी बुझाइ सकेकाले मन्त्रीपरिषदको बैठकबाट यसको टुंगो लाग्ने उनले बताए ।

विशेष