News

सिमा सुरक्षाको जग वसाउने पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

सिमा सुरक्षाको जग वसाउने पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ ।

९३ वर्षको उमेरमा बरालको बिहान घरमै निधन भएको हो । विक्रम सम्वत १९८५ वैशाख ५ मा नवलपरासीको देवचुली चुली बोझामा जन्मिएका वराल ०१३ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक थिए । विसं २०३६ देखि २०४२ सालसम्म तत्कालीन बर्मा अहिलेको म्यानमारका लागि राजदूतको जिम्मेवारी सम्हालेका बराल त्यसपछि राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए ।

नेपालमा पर्वतारोहण र सीमा सुरक्षाको जग बसाल्न बरालको अग्रणी भूमिका थियो। नेपालीहरू विदेशी पर्वतारोहीका भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न हुनुपर्ने बरालको चाहना थियो। त्यसैले आईजीपी रहँदा बरालकै अग्रसरतामा नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान स्थापना भएको थियो।

२०३५ सालमा अवकाश पाउनुअघिसम्म नेपाल–चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा उहाँले सीमा प्रहरी चौकी स्थापना गरेका थिए । 
 

विशेष