News

उपनिर्वाचनः देवकोटाद्वारा वादल पराजित, वास्कोटा भन्छन्– दुध ख्वाएर पालेका साँपले डसे !

उपनिर्वाचनः देवकोटाद्वारा वादल पराजित, वास्कोटा भन्छन्– दुध ख्वाएर पालेका साँपले डसे !

राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएका छन् । कांग्रेस–माओवादी गठवन्धनका उम्मेदवार डाक्टर खिमलाल देवकोटाले उनलाई पाराजित गरेका हुन् ।

बिहीबार हेटौंडामा भएको निर्वाचनमा देवकोटाले कूल ५ हजार ८८ मतभार प्राप्त गरे। मतभार १८ रहेको स्थानीय तहतर्फ देवकोटाले २ हजार ३ सय ४ र ४८ मतभार रहेको प्रदेशसभा सदस्यतर्फ २ हजार ७ सय ८४ मत प्राप्त गरे ।

अर्थात उनले १ सय २८ स्थानीय तहका प्रमुख÷उपप्रमुख र ५८ जना प्रदेशसभा सदस्यले मतदान गरे । 

निकटतम प्रतिस्पर्धी बादलले कूल ४ हजार १४ मतभार प्राप्त गरे। स्थानीय तहतर्फ १ हजार ८ सय ५४ र प्रदेशसभा सदस्य तर्फबाट २ हजार १ सय ६० मत उनलाई खस्यो। उनलाई स्थानीय तहका प्रमुख, उपप्रमुखले १ सय ३ र ४५ जना प्रदेशसभा सदस्यले मत दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ र प्रदेशसभा सदस्यतर्फ २ गरी कूल १ सय ३२ मतभार प्राप्त गरे। कूल ३ सय ४७ जना मतदाता रहेकोमा कूल ३ सय ३८ मत खसेको थियो।

मत परिणाम सार्वजनिक भएसँगै पुर्व सञ्चार मन्त्री गोकुल वास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कटाक्ष गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘दुध ख्वाएर पालेका साँपले डसेका हुन। बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’

विशेष