News

धनुषामा मंगलवारदेखि १० दिन लकडाउन

धनुषामा मंगलवारदेखि १० दिन लकडाउन

जनकपुर– धनुषामा कोरोना संक्रमण तीवग्रतिमा फैलिदै गएपछि मंंगलबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरको धनुषाका सिडिओ बन्धु प्रसाद वास्तोलाले जानकारी दिए।

यस अवधिमा सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको उनले बताए । त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने वास्तोलाले बताए । बजार व्यवसाय संचालनमा निश्चित समय तोकिएपनि औषधी पसलहरु नियमित संचालन गर्न पाउने उनले बताए ।

यता सरकारी कार्यालयहरुमा सरकारी कामहरु अतिरिक्त सेवाग्राहीहरुको काम नहुने निर्णय सो बैठकबाट गरिएको छ । बैठकले सरकारी कार्यालयहरुमा एक चौथाई कर्मचारी मात्रै राख्न भनेको छ ।

संचारकर्मीहरुले भने आफ्नो संस्थाको आइडी कार्ड लिएर आवतजावत गर्न पाउने छन् । शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गौर अस्पताल रौतहट, जलेश्वर अस्पताल महोत्तरी, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ४ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

शनिबार पर्सामा १ सय ५२ जना, धनुषामा १ सय १३ जना, महोत्तरीमा ६५ जना, रौतहटमा ३९, बारामा ३२, सिरहामा ७, सर्लाहीमा ७ र अन्य प्रदेशका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५२ पुगेको छ।हाल पर्सामा सबैभन्दा बढी १ हजार ४ सय २०, धनुषामा ४ सय ३, बारामा २ सय ८२, रौतहटमा १ सय ५९, महोत्तरीमा १ सय ५२, सप्तरीमा ७१, सिरहामा ४९ र सर्लाहीमा १६ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


 

विशेष