अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई काममा फर्किन निर्देशन
अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आईतवार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको वताए । अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको अधिकारीको भनाई छ ।
मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई यस्तो निर्देशन दिईएको जनाईएको छ ।
मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उनले जानकारी दिए।