News

मलाई सहयोग नगरे संसद विघनः प्रधानमन्त्री ओली

मलाई सहयोग नगरे संसद विघनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दल सहमत भए प्रतिनिधिसभा विघटन नहुने बताएका छन्।

बालुवाटारमा जारी पत्रकार सम्मेलनमा बोल्दै उनले विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आफूले मार्गप्रशस्त गरिदिएको पनि बताए । वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि उनले आग्रह गरे।

‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ, सक्नुहुन्न भने मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ, सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ’ उनले भने।

उनले जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आफूले समयको चापका कारण विश्वासको मत लिने ‘कर्मकाण्डी’ प्रक्रियामा नगएको दाबी गरे।

उनले भने–‘जेठ १५ मा बजेट ल्याउनुपर्ने संविधानमै तोकिएको छ । १४ गते सरकार बन्यो भने कसरी बजेट पेश गर्ला ? हामीसँग समय धेरै छैन । समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरी फेरि पराजित भएर ७६ को उपधारा ५ मा पुग्ने समय हामीलाई छैन । ५ मै जानपर्ने भएपछि बाटो खोलिदिनु अपरिहार्य थियो । मैले त्यहि गरेको हुँ ।

सरकारले विश्वासको मत नपाएको र विपक्षीले अविश्वासको प्रस्ताव पनि नल्याएको अवस्थामा आफूले उपधारा ५ को विकल्पका लागि मार्गप्रशस्त गरेको उनले दाबी गरे।

उनले फेरि संसद विघटन हुनसक्ने संकेत गर्दै आफूलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार गठन भए विघटन नहुने बताए। सरकार चलाउन अप्ठेरोमा परेपछि सबै परिस्थितिको विश्लेषण गरेर नै यसअघि प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ ।

जनताले दिएको ताजा जनादेशका आधारमा सरकार चल्ने कुरा नै उपयुक्त हुन्छ भन्ने लागेर यसअघि पनि विघटनको सिफारिस गरेको थिएँ । संविधानको व्याख्या गर्दा अदालतको र मेरो विश्लेषण फरक परेको हो । अदालतको व्याख्या फरक रह्यो’ उनले भने।
जनआस्था
 

विशेष