News मुख्य समाचार ताजा खबर देश

भारतले गाउँपालिकालाई दिएको एम्बुलेन्स चार वर्ष देखि काठमाडौंमै थन्किए

भारतले गाउँपालिकालाई दिएको एम्बुलेन्स चार वर्ष देखि काठमाडौंमै थन्किए

काठमाडौं । भारतले आफ्नो ७०औँ गणतन्त्र दिवसको अवसरमा खार्पुनाथ गाउँपालिकालाई दिएको एम्बुलेन्स चार वर्षदेखि काठमाडौंमै थन्किएको छ । भारतीय दूतावासले ७०औँ गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघसंस्थालाई ३० वटा एम्बुलेन्स दिएको थियो । सो क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिकाले एउटा पाएको थियो ।

१२ माघ ०७५ मा नेपालस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत मन्जीवसिंह पुरीले एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष कर्ण रावललाई हस्तान्तरण गरेका थिए । सो एम्बुलेन्स काठमाडौंको रामहिटीस्थित नाम्खायङ समाज हुम्लाको भवन बाहिर थन्क्याएर राखिएको छ ।

गाउँपालिकाले एम्बुलेन्स हुम्ला ल्याउन प्रयास नगरेको होइन । काठमाडौंदेखि सुर्खेतमा ल्याएर त्यहाँबाट हेलिकोप्टरमा हालेर हुम्ला ल्याउन खोजिएको थियो । तर, एम्बुलेन्स हेलिकोप्टरमा नअटेपछि काठमाडौंमै फिर्ता पठाइएको थियो । हिल्साबाट ल्याउँदा नेपाल–भारत सहयोग लेखेकाले समस्या भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

भारतीय दूतावासले सहयोग गरेको एम्बुलेन्स हेलिकोप्टरबाट हुम्ला ल्याउन भन्दै खार्पुनाथ गाउँपालिकाले नेपाली सेनालाई साढे आठ लाख तिरेको छ । गाउँपालिकाले सेनाको खातामा रकम जम्मा गर्नुपर्ने ठाउँमा सेनाको राजस्वको खातामा जम्मा गरेपछि अहिलेसम्म साढे आठ लाख फिर्ता नभएको अध्यक्ष रावलले बताए । राजस्व खातामा जम्मा भएकाले फिर्ता हुन नसकेको उनको भनाइ छ । मन्त्रिपरिषद्ले निर्णय नगर्दासम्म यो रकम फिर्ता नहुने रावलले बताए । नयाँपत्रीका

विशेष