रोल्पामा अत्याधुनिक हतियार भेटिए
रोल्पाको नुवागाउँको जंगलमा ठूलो मात्रामा अत्याधुनिक हतियारको गोली भेटिएको छ । प्रहरीले अत्याधुनिक हतियारलाई चाहिने गोली नुवागाउँको रामपुर नजिकैको जंगल छेउको बाँसघारीमा लुकाइराखेको अवस्थामा शनिबार नुवागाउँमा भेटिएको जनाएको छ ।
सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाको आधारमा परिचालित भएको प्रहरीले त्रिवेणी गाउँपालिका–२ नुवागाउँको रामपुर गाउँ नजिकै रहेको बाँस घारीमा लुकाइएको अवस्थामा प्लास्टिकको पोकामा ती हतियारका गोली फेला पारेको जनाएको छ ।
फेला पारिएका हतियारमा एम–१६ हतियारको गोली १ थान, एसएमजी हतियारको २३ थान गोली र एलएमजी हतियारको गोली १ थान गरी २५ थान गोली फेला परेको हो । यस्तै ७.६२ एमएम म्याग्जिनको २ सय ८ राउण्ड गोली, एके ४७ म्याग्जिनको ७ सय ५२ साउण्ड गोली र ९ एमएम को १० राउण्ड गोली समेत फेला पारिएको हो । बरामद हतियार हालसालै लुकाइएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
तत्कालीन माओवादी लडाकुको पाँचौ शिविर रहेको दहवनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले समेत सर्च गरेको थियो । रामपुर गाउँ नजिकको जंगलमा गत वैशाख पहिलो सातामा भिषण आगलागी भएको थियो । आगलागीमा परी नुवागाउमा ३२ घरसहित कम्तीमा ५० वटा घर जलेर नष्ट भएका थिए । प्रहरीले उक्त घटना आसपास पहिले नै घरहरुमा कसैले लुकाएर राखेकोमा आगलागी नभएको जंगलमा पुनः लुकाएको आशंका गरेको छ । आगलागीबाट थुप्रै सामुदायिक वन जलेर नष्ट भएका थिए ।
शान्ति प्रक्रियापछि रोल्पामा थुप्रै स्थानमा ठूलो मात्रामा हतियार, गोली र बम समेत बरामद गरिएको छ । फेला पारिएका हतियार र गोलीगट्टा सशस्त्र द्वन्द्वको अवधिमा सरकारी र विद्रोही पक्षले प्रयोग गर्न जम्मा गरेको आशंका गरिएको छ । रोल्पाको कुरेलीमा अतिल्लो वर्ष ठूलो संख्यामा फेला पारिएका हतियार नेपाली सेनाको हेडक्वार्टरबाट आएको टोलीले बरामद गरी लिएको थियो ।