नेता नेपाल पक्षका यूवा नेताद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

नेकपा एमालेका नेता माधव नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।
नेकपा (एमाले) मा अध्यक्ष केपी ओली र नेता नेपाल पक्षबीच विवाद वढ्दै जाँदा ओलीले नेपाल पक्षमाथि कार्वाही प्रक्रिया थालेका छन् । पार्टी विभाजनको औपचारिक विन्दुमा पुगेको ठिक यसैवेला राईले दल दर्ताको निवेदन दिएका हुन ।
दल दर्ताका लागि शुक्रबार आयोगमा निवेदन दिइएका राईले चुनाव चिह्न कलम मागेका छन् । २५ सदस्यिय पार्टीमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष छन् ।
प्रधानमन्त्री ओलीसँग विवाद बढ्दै गएपछि नेपाल पक्ष नयाँ दल खोल्ने तयारीमा रहेकै बेला नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपुर्ण रुपमा लिईएको छ ।
जेठ ६ गते सम्पन्न राष्ट्रिय सभाका लागि वाग्मती प्रदेशको निर्वाचनमा कलम चिह्न लिनुभएका नेपाल पक्षकै स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटाले गृहमन्त्री रामबहादुर थापालाई पराजित गरेका थिए ।