News

ओली बिद्याको ‘सेटिङ’ विरुद्ध प्रचण्ड–देउवाको अदालतमा यस्तो एक्सन!

ओली बिद्याको ‘सेटिङ’ विरुद्ध प्रचण्ड–देउवाको अदालतमा यस्तो एक्सन!

नमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटन विरुद्ध विपक्षी गठबन्धनका राजनीतिक दल र समूहका १ सय ४९ जना सांसदले आज बिहान सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दैछन् ।

सोही प्रयोजनको लागि हिजो संसद भवन नयाँ बानेश्वरमा सबै दलका सांसदहरु भेला भएर रिट सम्बन्धी कागजातमा दस्तखत र नागरिकताको फोटोकपी पेश गरेका थिए । सोही क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबैजसो सांंसद उपस्थित भए ।


हिजो बिहानदेखि बानेश्वरमा जम्मा भएका सांसदमध्ये माओवादी जति ल्होत्से हलमा र काँग्रेस दायाँतर्फको लबीमा बसेका थिए । एमाले सांसदहरु भने क्याण्टिन जाने बाटोमा सामाजिक दूरी कायम राखेर बसेका थिए । त्यसपछि लगत्तै गोविन्द बन्दी, टीकाराम भट्टराई, खम्ब खाती, पंकज कर्णसहित कानुन व्यवसायीहरुको टोली रिट निवेदनको कागजात बोकेर त्यहाँ पुगेको थियो ।

शुक्रबार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको कागजातमा हस्ताक्षर गर्न आएकामध्ये हिजो दुईजना मात्र अनुपस्थित थिए । गणेश पहाडी र दीपक भट्ट काम विशेषले त्यहाँ नपुगेको बताइन्छ । शुक्रबारको भेलामा अनुपस्थित भएमध्ये कलिला खातुन लगायतका पनि हिजो पुग्नुभयो । आज बिहानको भेलामा नारायण खतिवडा, माया ज्ञवाली, विष्णु केसी पौडेलहरु पनि आएर रिटको कागजातमा दस्तखत गर्ने बताइएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि ज्ञवाली र पौडेलले आफ्नो सांसद पद नै गुमेको अवस्थामा रिट निवेदन हाल्नु जायज भएको बताइन्छ । हिजोको भेलामा नेता सुरेन्द्र पाण्डेले पनि आफ्नो नागरिकताको फोटोकपी दिनुभएको थियो । वारेश व्यक्तिगत रुपमा राख्ने कि सामूहिक भन्नेबारे अहिले बिहान निर्णय हुने बताइन्छ ।

हिजोको रिट तयारी भेलामा नेता योगेश भट्टराई भने नदेखिनुभएको बताइन्छ । तर, उहाँ बालुवाटारमा गएर लम्पसार पर्ने अवस्थामा पनि नरहेको अवस्था छ । बालुवाटार समर्थितले आफूलाई सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले आलोचना गरेकोमा भने भट्टराईको चित्त दुखाई रहेको स्रोतको दाबी छ ।

आज बिहान ११ बजेभित्र संसद विघटन र मध्यावधि निर्वाचन विरुद्ध बहुमत सांसदहरुको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गर्ने तयारीको लागि १० बजे सबैजना भेला हुने बताइएको छ ।

यता सर्वोच्चले पनि सोचेभन्दा बढी रिट निवेदन पर्ने आँकलनसहित अधिकांश कर्मचारीलाई बिदामा नबस्न आदेश गरेको छ । भोलि बस्ने अदालतको एकल इजलासले सम्भवतः प्रष्ट सँविधान उल्लंघन देखिएको यो केसमा शुरुमा स्टे अर्डर दिने या सबै रिटलाई एकमुष्ट संवैधानिक इजलासमा पठाउन सक्छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको इजलासमा ती रिट निवेदनबारे छलफल हुने आँकलन गरिएको छ ।

गत पुसको संसद विघटनविरुद्धको मुद्दामा देखिएको लम्बेतान प्रक्रियालाई ध्यानमा राखेर यसपटक सांसदहरुको रिट निवेदन छोटो र छरितो प्रक्रियामा तयार पारिएको बताइन्छ ।
 

प्रचण्ड–देउवा

विशेष