News स्वास्थ्य

महामारीका एम्वुलेन्स चालकः हाम्रो मास्क पनि प्रहरीलाई देखाउन मात्रै हो

महामारीका एम्वुलेन्स चालकः हाम्रो मास्क पनि प्रहरीलाई देखाउन मात्रै हो

वीरेन्द्र रमण
जनकपुर– 
विश्वब्यापी रुपमा फैलिइएको कारोना संक्रमण रोक्नका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि अग्रपंतिमा रहेर काम गर्ने प्राय सवैलाई सरकारले थप सुविधा दिएको छ । तर, एम्बुलेन्स चालकले भने सरकारी स्तरबाट अहिलेसम्म कुनै भरथेग पाएका छैनन् ।

चालकहरु आफनो ज्यान जोखिममा राखेर सेवा दिई रहेका छन । उनिहरुलाई स्वास्थ्य सामग्री समेत उपलब्ध नभएको अवस्था छ। पिपिई र अन्य आवश्य स्वास्थ्य सामग्री विनै उनीहरु दिन रात नभनी खटिएका छन्। जसले जोखिममा परिने चिन्ता उनीहरुलाई भईरहन्छ।

विरामीलाई ओसार–पसारका लागि जनकपुरको प्रादेशिक अस्पताल छेउमा रहेको रंगभुमि मैदानमा एम्बलेन्स लागेका हुन्छन्। जसमा धेरै जसो कोरोना संक्रमित पनि हुने गरेको चालकहरुको भनाई छ। यस्तो अवस्थामा स्वास्थ्य सुरक्षा विना नै काम गर्नु पर्दा ज्यान जोखिममा रहेको उनीहरु वताउँछन् । ‘एउटै स्वास्थ्य सामग्री केयौ पटक लगाएर काम गर्नुपर्छ’ उनीहरु भन्छन्–‘हामीले प्रयोग गर्ने मास्क पनि प्रहरीलाई देखाउन र आत्मसन्तुष्टिका लागि मात्रै काममा आउँछ। कयौं दिनदेखि प्रयोगमा आउने भएकाले त्यसले रोग छेक्ला भन्ने चाहि लाग्दैन।’

जनकपुर एम्बलेसन चालक संघका अध्यक्ष अरमान साहले एम्बुलेन्स धनिले समेत आफुहरुलाई स्वास्थ्य सामग्री उपलब्ध नगराएको गुनासो गरे । यदाकदा विभिन्न ठाउँबाट स्वास्थ्य सामग्रीहरु मांग गरेर जसो–तसो सेवा दिनुपरेको उनले वताए ।

‘एम्वेलेन्स चालकलाई नत स्वास्थ्य सामग्री छ, नत विमा नै गरिएको छ’ उनले भने–‘हामीले त गुनासो गर्ने मात्रै न हो, सुनुवाई गर्ने कोहि छैन ।’

एम्वुलेन्स चालकलाई तलमाथि भई हाले परिवारको विचल्ली हुने भन्दै उनले थपे–‘हुनेखाने मान्छे भए एम्वुलेन्स चलाएर को वस्छ ? यदि रहेछ भने पनि यस्तो महामारीको समयमा कसैले पनि ज्यान जोखिममा पारेर काम गर्दैन’ उनले थपे–‘यस्तो अवस्थाका मान्छेलाई केहि भयो भने उनीहरुको परिवारको जिम्मा कस्ले लिने ?’

यति मात्र होईन, एम्वुलेन्स चालकलाई अहिले समाजले हेर्ने दृष्टिकोण समेत फरक भएको छ। एम्वुलेन्स चालक भनेपछि छेउमा पर्नै नदिने र पसलेहरुले सामान समेत नदिने गरेको अर्का चालक विक्की यादव वताउँछन् ।

एम्वुलेन्स चालकहरुलाई दुब्र्यवहार गरेपनि सर्वसाधारण भने अहिले सम्म सचेत नभएको उनी वताउँछन् । निशेधाज्ञाको पूर्ण पालना नभएको, भौतिक दुरी काम गर्ने कुरामा वेवास्ता गरिएको, वाजर तथा चौकमा भिडभाड हुने गरेको लगायतका कुरामा उनले आश्चर्य ब्यक्त गरे ।

विशेष