News राजनीति

ओलीका विश्वासपात्रवाटै राजेन्द्र महतोको नागरिकता छानबिनका लागि उजुरी !

ओलीका विश्वासपात्रवाटै राजेन्द्र महतोको नागरिकता छानबिनका लागि उजुरी !

नेपालको राजनीतिमा केपी शर्मा ओली र राजेन्द्र महतो सधैं विपरीत धुव्र भइरहे । ओलीको राष्ट्रवादी छवी थियो भने महतो सधैं भारतपरस्त । यही कारण दुई नेताको सम्बन्ध पनि राम्रो हुन सकेन ।

तर, यतीबेला ओली र महतोको गजबको दोस्ती देखिएको छ । ओलीको मन्त्रिपरिषद्मा महतो गृहमन्त्रीका लागि लबिङ गरिरहेका छन् । ओली र महतोलाई भारतले नै मिलाएको चर्चा राजनीतिक वृत्तमा छ ।

कुनै समय यस्तो थियो कि ओलीले नै महतोको नागरिकताको छानबिनको माग गरेका थिए । उनका निकट युवा संघका तत्कालिन अध्यक्ष राजीव पहारीले महतोको नागरिकतोका छानबिन माग गरी २०७२ सालमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतसँग निवेदन दिएका थिए ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकोमा आयोगले छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, दबाबका कारण विस्तृत छानबिन हुन पाएन ।

महतोले सर्लाही जिल्लाबाट नागरिकता लिएका हुन् । उनको परिवार भारतबाट नेपालमा आएको हो ।

बुबा खोभारी सुडी भारतीय नागरिक थिए । सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।

महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान–चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थालेका थिए ।

महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महतो र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् ।

गृह स्रोतका अनुसार राजेन्द्र महतोले ०२७/०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।

छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ ।

महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।

पटक पटक मन्त्री भएका महताको राजनीतिक सफलतामा भारतको भूमिका रहेको बताइन्छ । भारतको इच्छाअनुसार काम गर्ने भएकाले उनले राजनीतिमा सफलता पाउँदै आएका छन् । भारतबाट नेपाल आउने गाडीलाई सरकारले कर बढाउँदा उनले संसदमा त्यसविरुद्ध अर्थात् भारतीय नागरिकको पक्षमा बोलेका थिए । अहिले ओलीसँगको गठबन्धनमा पनि उनी दैनिक जसो दूतावास जाने गरेका समाचार आइरहेका छन् । 
यो सामग्री दृष्टिन्युज डटकमवाट साभार गरिएको हो।

राजेन्द्र महतो केपी शर्मा ओली नागरिकता छानबिन जन्मसिद्ध नागरिकता

विशेष