News

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि  सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न  सङ्घले अनुरोध गरेकोछ ।

विदेशबाट नेपाल फर्कँदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरिएको छ । 
 

विशेष