News

महामारीको वहानमा चीनियाँ हस्तक्षेपः दलका नेताहरुलाई प्रभावमा पार्ने प्रयास

महामारीको वहानमा चीनियाँ हस्तक्षेपः दलका नेताहरुलाई प्रभावमा पार्ने प्रयास

नेकपा एमाले र माओवादी केन्द्रलाई एकिकरण गरी नेकपा वनाउन सफल भएपनि स्थायीत्वका जोगाउन नसकेको चीनले नेपालमा फेरी सकृयता देखाउन थालेको छ। नेपालको राजनीतिमा प्रत्यक्ष/अप्रत्यक्ष हस्तक्षेप गर्दै आएको चीनले पछिल्लो पटक त्यसका लागि कोरोना महामारीलाई माध्यम वनाएको छ।

वुधवार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपालका राजनीतिक दलसँग भर्चुअल बैठक सम्पन्न गरेको छ । बेइजिङबाट आयोजना गरेको वैठकमा सत्तारूढ दल लगायत सबैजसो राजनीतिक दलका नेताहरूले सहभागिता जनाए ।

महामारीविरूद्ध संयुक्त संघर्ष तथा जनताको जीवनरक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारी विरूद्ध संयुक्त लडाइँ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ सहभागि थिए । 

नेपालका तर्फवाट उपप्रधानमन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस नेता डा.नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतको सहभागिता थियो ।

सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले महामारी नियन्त्रणका लागि ४ वटा उपाय सुझाएका छन्। उनले पार्टीको नेतृत्वमा जनताको जीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौतीको सामना गर्न एकीकृत समन्वय हुनुपर्ने, मन मन जोडेर शक्तिका साथ जुट्नुपर्ने र दृढ योजना अघि सार्नुपर्ने सुझाव दिए ।

उनले विभिन्न दलका नेताहरूलाई देखेपछि महामारीका बेलामा नेताहरूले मनमुटावलाई बिर्सिएको आभाष भएको बताए।

नेपाली राजनीतिक दलका नेताहरूले चीनको महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै चीनबाट स्वास्थ्य सामग्रीका लागि ठूलो अपेक्षा गरिरहेको बताए। उनीहरुले नेपालको स्वास्थ्य अवस्था नाजुक भएको स्वीकार्दै नेपाल महामारीको सबैभन्दा गम्भीर मोडमा पुगेको र कोभिडको दोश्रो लहर फैलिएको जानकारी गराए ।

केहि नेताहरुले भने वैठकको विरोध गरेका छन् । महामारीको वहानमा चीनले दलका नेताहरुलाई प्रभावमा पार्न खोजेको उनीहरुको आरोप छ। खोप तथा स्वास्थ्य सामग्री लगायत समग्र कोरोनाका विषयका छलफल भए स्वास्थ्य मन्त्रालय वा प्राविधिकहरुको छलफल आवश्यक रहेको वताउँदै उनीहरुले दलका नेताहरुलाई वैठकमा जम्मा पारेर चलखेल गर्न खोजेको उनीहरुको आरोप छ।

विशेष