News

घाँटी थिचेर नर्सलाई मार्न खोज्ने एमाले कार्यकर्ता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

घाँटी थिचेर नर्सलाई मार्न खोज्ने एमाले कार्यकर्ता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

स्वास्थ्यकर्मीलाई घाँटी थिचेर मार्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । नेपालगन्ज स्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीनै जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान सुरु भएको हो।

पक्राउ परेका उनीहरूले अस्पतालमा कार्यरत नर्स सुदिक्षा गैरेलाई घाँटी च्यापेर मार्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरू वन्दना श्रेष्ठ र आश्वीनी गुरुङलाई साङ्घातिक आक्रमण गरेका थिए।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धानको म्याद  लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

कोरोना सङ्क्रमण भई भेरी अस्पतालमा उपचार गराई रहेका दाङका डिल्ली बहादुर रावतको बिहीबार राती मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत राउत र लोकराज रावत समेतले अस्पतालका नर्सिङ स्टाफ गैरेको घाँटी च्यापेर मार्न खोजेका थिए भने अन्य स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गरेका थिए ।

स्वास्थ्यकर्मीहरु ज्यान जोगाउन बाथरुमको झ्याल फोडेर भागेका थिए । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मृतकका भाइ दाङ तुलसीपुरका मानबहादुर रावत र मृतकका छोराहरू भरत राउत र लोकराज रावतमाथि मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

विशेष