News

चिकित्सक तथा नर्सप्रति भएको दुर्ब्यवहार खेदजनकः राष्ट्रपति

चिकित्सक तथा नर्सप्रति भएको दुर्ब्यवहार खेदजनकः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति भएको दुर्ब्यवहार प्रति खेद ब्यक्त गरेकी छिन् । उनले शुक्रवार ट्वीटर मार्फत यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै महामारीलाई परास्त गर्न आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्ब्यवहार हुनु खेदजनक छ। दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

यसैगरी, गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्ब्यवहार गर्नेलाई कारबाही हुने बताएको छ । शुक्रवार (आज) विज्ञप्ति निकालेर मन्त्रालयले कुटपिटमा संलग्न जो कोहीलाई पनि कारबाही हुने जनाएको हो । 

यसअघि आजै स्वास्थ्य मन्त्रालयले घटनामा संलग्नलाई कारबाही गर्न अपिल गरेको थियो । 

बिहीवार बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्ब्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । 

विशेष