News प्रदेश ७

मुख्यमन्त्री त्रिलोचन भट्टको नायवी चलाउँदै भिम रावल !

मुख्यमन्त्री त्रिलोचन भट्टको नायवी चलाउँदै भिम रावल !

सुनिल धामी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा माओवादी अल्पमतमा परेको भन्दै नेता–कार्यकर्ताले नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । प्रदेश कमिटी र संसदीय दलको भावनाविपरीत मन्त्रिपरिषद पुर्नगठन गरिएको भन्दै नेता–कार्यकर्ता मुख्यमन्त्री त्रिलोचन भट्ट र अध्यक्ष पुष्पकमल दाहालमाथि खनिएका छन् ।
 
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्टले पार्टीको भावना विपरित मन्त्रिपरिषद विस्तार गरेको भन्दै नेता कार्यकर्ता रुष्ट भएका हुन् । प्रदेश कमिटी र संसदीय दलको सल्लाह विपरित भट्टले भिम रावलको इशारामा मन्त्रिमण्डल विस्तार गरेको भन्दै नेता कार्यकर्ताको आरोप छ। माओवादी नेतृत्वको सरकार रहेको सुदूरपश्चिममा माओवादी केन्द्रभित्र पनि एमालेबाट निष्कासित भीम रावलको निर्देशन चल्दै आएको आरोप केही नेताको छ । 

शुक्रबार विस्तारित मन्त्रिपरिषदममा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री छन् । सुरुवातदेखि नै मुख्यमन्त्रीका दावेदार रहेका कैलालीका सांसद विरमान चौधरी र प्रत्यक्ष निर्वाचित सुदूरपश्चिमकी एक्ली महिला सासंद देवकी मल्ललाई मन्त्रिपरिषद् पुर्नगठनमा छुटाएको भन्दै अधिकांश नेता कार्यकर्ता रुष्ट देखिएका हुन् ।

एघार वटा मन्त्रालय मध्ये महत्वका साथ हेरिने आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ७ वटा मन्त्रालय भिम रावल नेतृत्वको एमालेले आफ्नै पोल्टामा पारेको छ । प्रदेश योजना आयोग, खप्तड विकास समिती, खेलकुद परिषद, युवा परिषद, लोकसेवा आयोग जस्ता प्रदेश मातहतका संवैधानिक आयोग तथा परिषदमा पनि भिम रावलकै कार्यकर्ता सिफारिस हुँदा रावलको पल्ला भारी देखिन्छ ।

मुख्यमन्त्री भट्ट आफ्नो कुर्सी जोगाउन रावलको कठपुतली बनेको कार्यकर्ताको आरोप छ । मुख्यमन्त्री भट्टले विहिबारसम्म मन्त्रिपरिषद विस्तार हुदैछ भन्नेबारेमा प्रदेश सभा सदस्यहरुलाई समेत जानकारी नगराएको एक जना माओवादी नेता बताउँछन् । उनि भन्छन्, ‘विहीबारसम्म मन्त्रिपरिषद विस्तार हुदैछ भन्ने बारेमा कसैलाई जानकारी थिएन। भट्टले रावल समक्ष आफ्नो पदको लागि घुँडा टेकेर छापामार शैलीमा मन्त्रिपरिषद विस्तार गरे ।’

माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित र समानुपातिक गरी १३ जना सांसदहरु रहेका छन् । जसमध्ये वरियता क्रममा सबैभन्दा सिनियर नेता विरमान चौधरी मानिन्छन् । कैलालीबाट निर्वाचित चौधरी प्रथम संविधानसभा सदस्य पनि हुन् । यो पटकको मन्त्रिमण्डल विस्तारमा दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर धामी, विरभान चौधरी र प्रत्यक्ष निर्वाचित सुदूरपश्चिमकी एक्ली महिला सासंद देवकी मल्ललाई मन्त्रिपरिषदमा समावेश गरिने अपेक्षा गरिएको थियो। तर त्यसो हुन सकेन ।

प्रदेश योजना आयोग तथा खप्तड विकास समितिमा एकलौटी भिम रावल नेतृत्वका कार्यकर्ताहरु सिफारिस भएका छन् । खेलकुद परिषदमा सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा पनि रावलकै कार्यकर्ताहरु सिफारिस भएका छन् । मन्त्रालय, विभिन्न संवैधानिक आयोग तथा परिषदहरुमा भिम रावलको मात्रै एक छत्र वर्चश्व रहनुमा मुख्यमन्त्री भट्टको कुर्सी मोहले काम गरेको नेता कार्यकर्ताको विश्लेषण छ । आफुले स्पष्ट अडान नलिएर पार्टी हित विपरित छापामार शैलीमा मन्त्रिपरिषद विस्तार गर्दै भिम रावलका अगाडि मुख्यमन्त्री भट्ट पंगु बनेको माओवादीका एकजना नेता बताउँछन् । 

मन्त्रिपरिषद विस्तारको विषयलाई लिएर माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सहइन्र्चाज खगराज भट्ट, पुर्व संविधानसभा सदस्य मन्जु बम, जनक बुढा, माओवादी केन्द्रका बझाङ जिल्ला अध्यक्ष मिनबहादुर कुँवर लगाएतका नेताहरुले असन्तुष्टि जनाएका थिए ।

त्रिलोचन भट्ट भिम रावल

विशेष