News राजनीति

फेसवुक मार्फत घनश्याम भुसालले दिए स्पष्टिकरण

फेसवुक मार्फत घनश्याम भुसालले दिए स्पष्टिकरण

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमाले स्थायी कमिटी बैठकको निर्णय अनुसार सोधिएको स्पष्टिकरणको जवाफ फेसवुक मार्फत दिएका छन् ।

उनले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले गरेको हस्ताक्षर संविधानको रक्षा र राजनीतिक स्थिरताको पक्षमा भएको दावी गरेका छन् । आफूबाट संसदीय मर्यादा उल्लंघन भए पनि संविधान र राजनीतिका लागि त्यो विकल्प रोज्नु परेको भुसालको भनाइ छ ।

‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघनको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ’ उनले लेखेका छन्–‘मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षा को पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’

भुसालले फेसवुक मार्फत दिएको स्पष्टीकरण

म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिनँ । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो ।

तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।
 

विशेष