News

कोरोनाले जनतामा हाहाकार–हार्मोनियम वाँड्दै सरकार !

वीरेन्द्र रमण

कोरोनाले जनतामा हाहाकार–हार्मोनियम वाँड्दै सरकार !

जनकपुरधाम– कोरोना संक्रमणका कारण प्रदेश–२ अस्तव्यस्त छ । जता ततै अस्पतालहरुमा कोरोनाका बिरामीले भरिएका छन् । कतिपय संक्रमित होम आईसोलेसनमा छन ।

यसवेला सरकारको ध्यान पुर्ण रुपमा कोरोना संक्रमण नियन्त्रणमा हुनु पर्ने हो तर, सरकारको ध्यान भने विभिन्न पदमा भएका नियुक्तिमा तलव भत्ता वढाउनेमा केन्द्रित छ। यति मात्र होईन कुनै मन्त्रालय त यस्तो अवस्थामा पनि हार्मोनियम बाड्नमा व्यस्त छन् ।

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले धार्मिक संघ/संस्थाहरुलाई वस्तुगत सहयोगका लागि लाभग्राही छनौट सम्बन्धी ७ दिने सूचना प्रकाशन गरेको छ । नागरिक महामारीले समस्यामा परेको कुरालाई वेवास्ता गर्दै धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समुह, गायन मण्डली, नृत्य समुहलाई हार्मोनियम, मादल, झ्याली वाँड्दैमा ब्यस्त हुन थालेपछि आलोचना सुरु भएको छ ।

प्रदेश सरकारले आफनो नियमित कार्यक्रम रोकेर तत्काल स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने स्थानीयको माग छ। 

जनकपुरधाम उपमहानगरपालिका–७ का सुभाष गुप्ता भन्छन्–‘कोरोना महामारीको यस्तो अवस्थामा जनता ज्यान जोगाउन लागेका छन्। तर, सरकार भने हार्मोनियम र मादल बाँड्न थालेको छ’ 

यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले संचार नियमावलीमा परिवर्तन गर्दै नियुक्त गरिएको अध्यक्षहरुको तबल बढाएर ४७ हजार ३ सय ८० रुपैया पुर्याएका छन्। यस अघि ३५ हजार तोकिएको थियो । यसको पनि आलोचना सुरु भएको छ।

पुजिंगत खर्च निरासाजनक
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुको सट्टा पोखरी ताललैया सौन्दर्यीकरणका नाममा धेरै रकम खर्च गरेको छ । तर, पनि प्रदेशको पुजिगत खर्चको अवस्था निरासा जनक नै छ । चालू आर्थिक वर्षको ९ महिनामा अपेक्षाकृत बजेट खर्च हुन सकेको छैन।

चालू आव २०७७÷०७८ को ९ महिनामा साढे २० प्रतिशत बजेट मात्र खर्च भएको छ। पुँजीगततर्फ कुल बजेटको १८.३७ प्रतिशत र चालूतर्फ २४.१८ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीले जानकारी दिए।
 
चालू आवको ९ महिनाको अवधिमा सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले १ करोड ७३ लाख ९१ हजार बजेटमध्ये ९२ लाख ६६ हजार ५ सय ४६ रुपैयाँ खर्च गरेको छ। जुन कुल बजेटको ५३.२८ प्रतिशत बजेट खर्च हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले तथ्यांक १८ प्रतिशत बजेट खर्च देखाए पनि २५ प्रतिशतभन्दा बढी बजेट खर्च भएको दाबी गरे।


बिशेष कोभिड अस्पतालको लागि थप २२७ दरबन्दी 
प्रदेश सरकारले कोरोना महामारीसंग जुध्न प्रदेश भरीका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी  ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ । सोमवार वसेको मन्त्री परिषदको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागी ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागी ३२÷३२ लहान अस्पतालका लागी २३, र भारदह तथा पोखरिया अस्पतालका लागी १५÷१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।
 
कोरोना विशेषको लागि थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्ट देखी स्वीपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।
 
त्यसैगरी जनकपुरको मणिपालमा निर्माण गर्न लागेको बिशेष कोभिड अस्पतालको लागि थप २२७ दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले मणिपालमा २० बेड आइसियु सहित १ सय वेडको बिशेष कोभिड अस्पताल निर्माण गर्न लागेको हो ।
 

विशेष