News राजनीति

‘राजनीति भनेको दम्पत्तिको सम्बन्ध जस्तो हुँदैन, जहाँ एउटाले सहेर अर्कोलाई अवसर दिनु परोस’

‘राजनीति भनेको दम्पत्तिको सम्बन्ध जस्तो हुँदैन, जहाँ एउटाले सहेर अर्कोलाई अवसर दिनु परोस’

सरकारले जिम्मेवार निकाय र क्षेत्रमा पारेको प्वाल हेर्दै र टाल्दै जानुपर्ने अवस्था बनेको छ । सर्वत्र नियमभन्दा बाहिर गएर काम गरिएको छ । कुनै दिन पर्नसक्ने ठूलो भ्वाँग टाल्न सकिएन भने त्यसपछि ठूलो दुर्घटना हुनुलाई अवश्यम्भावी भन्न थालिएको छ ।

कर्णाली प्रदेशसभामा हालै भएको फ्लोर क्रसपछि माधव नेपाल समूहलाई कारबाही गर्न खुट्टा उठाएका प्रधानमन्त्रीले त्यसो गर्दा आफ्नै बहुमतको सरकार गुम्ने भेउ पाएर रोकिएको बताइन्छ । किनभने प्रनिधिसभाको तत्काल कायम सदस्यको बहुमत भनिएको अवस्थामा २७ जना सांसदलाई कारबाही गर्दा बहुमत नपुग्ने निश्चित छ । अब आफैँले पारेको त्यो भ्वाङलाई प्रधानमन्त्री ओलीले टाल्नुपर्ने हुन्छ, तर कसरी ?

यता, प्रधानमन्त्रीले सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउँदा सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया मिलेन भनेर फर्काइ दिनसक्ने जोखिम पनि त्यत्तिकै छ । त्यो गौंडोले सबैभन्दा धेरै प्रधामन्त्रीलाई झस्काएको अनुमान गर्न सकिन्छ ।

पार्टीभित्रको अन्तरविरोध र तिक्तता एउटा विन्दुमा पुगेपछि कोर्स करेक्सन गरेर जाउँ भन्दै प्रधानमन्त्रीले पार्टी भित्रकाहरूसँग हात मिलाएर अघि बढेको भए परिस्थिति सहज हुने अधिकांश नेताहरूले ढिलै भएपनि बताउन थालेका छन् । त्यसो हुँदा एमाले पनि सग्लो रहन्थ्यो ।

पार्टीभित्र वा संसदीय दलमा नेपाल समूहको बहुमत थिएन । मिलेर जाँदा पनि सबै रजगज आफ्नै हुनेतर्फ प्रधानमन्त्रीले ध्यान नदिएको बालुवाटारनिकट भनिएका नेताहरूले नै बताउनुलाई पनि अर्थपूर्ण मानिएको छ । तर,एकपछि अर्को छलछामको राजनीतिका कारण परिस्थितिले कोल्टो फेर्न लागेको रुपमा बुझ्नुपर्ने अवस्था छ ।

केही दिनअघि बालुवाटारमा भएका श्रृंखलाबद्ध बैठकहरूमा ‘गज्याङमज्याङ’ कुरो उठेको थियो । स्रोत भन्छ– हालैका भेटघाटमा नेपाल र उहाँ निकट दोस्रो पुस्ताका केही नेताले पहिले एमाले बैठक राखौं,त्यसपछि मात्र सबै निर्णयमा समर्थन गरौंला भन्नेसम्मको प्रस्ताव राखेपनि प्रधानमन्त्रीले एउटा कानले सुनेर अर्कोले उडाइदिएका थिए।

ती भेटमा माधव समूहले बालुवाटारले बादलहरूलाई पार्टीमा समेट्दा हिजो एमालेबाट माओवादीमा गएर अहिले फर्कन खोजेकाहरूलाई समेत समेटौं भनेर प्रस्ताव गरेको प्रधानमन्त्री निकट भनिएका नेताहरूले नै स्वीकारेका छन् । नेपाल पक्षको भनाई उद्धृत गर्दै ती नेताले भने ‘सदस्यता नलिएका व्यक्तिलाई एकै चोटी नेतृत्वमा ल्याउँदा सम्भवतः कसैलाई पनि पच्दैन । त्यसलाई पचाउने गरी ल्याऔं मात्र भनिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबैले पुराना गल्ती कमजोरीलाई सच्याएर अघि बढ्नुको विकल्प देखिँदैन । परिस्थितिको बारेमा बुझ पचाउँदै गल्ती नसच्याउँदा सर्बत्र भताभुङ्ग हुन बेर लाग्दैन । प्राकृतिक नियमानुसार भताभुङ्ग भएपछि नयाँ सिर्जना हुन्छ र हुनैपर्छ । परिस्थिति त्यतैतर्फ सोझिएको भन्न थालिएको छ । किनभने राजनीतिक विद्रोह र असन्तुष्टिलाई कुनैपनि राज्यको कानुनले रोक्न सक्दैन ।

त्यसैले भन्ने गरिएको छ ‘राजनीति भनेकै मन मिलुञ्जेल बस्ने हो, नमिलेपछि छाड्ने हो । यो कुनै दम्पत्तिको सम्बन्धझैँ एउटाले सहेर भएपनि अर्कोलाई अवसर दिइरहनुपर्छ भन्ने मान्यताको ठीक विपरित छ ।’
– जनआस्था

विशेष