News फोटो अन्तरवार्ता भिडियो

निर्माण सम्पन्न नभई त्रिपालले लाज छोपेर धरहरा उद्घाटन, अझै काम वाँकी [फोटो/भिडियो]

निर्माण सम्पन्न नभई त्रिपालले लाज छोपेर धरहरा उद्घाटन, अझै काम वाँकी [फोटो/भिडियो]

०७२ वैशाख १२ गतेको भुकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणपछि वैशाख ११ गते उद्घाटन गरियो। महाभूकम्पमा भत्किएको ठिक ६ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २२ तले धरहराको उद्घाटन गरे ।

तर, निर्माणको काम सम्पन्न नहुँदै धरहरा उद्घाटन गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भयो। आलोचना नहोस पनि किन ? असरल्ल निर्माण सामग्री र निर्माण स्थललाई त्रिपालले ढाकेर उदघाटन गरिएको धरहराको अधिकांश काम अझै वाँकी नै छ। 

सरकारले विकास निर्माणमा ध्यान नदिएको र खाली सरकार कसरी टिकाउने भन्नेमा अलमलिएको आरोप लाग्न थालेपछि काम गरेको देखाउन प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गराएको जानकारहरु वताउँछन् । काम नसकिदै त्रिपालले लाज ढाकेर जस लिने होडवाजी गर्नुले ओलीको हतारोलाई प्रष्ट्याउने उनीहरु वताउँछन्।

धरहरा पुनर्निर्माणमा विज्ञका रुपमा काम गरिरहेका राजुमान मानन्धरका अनुसार पनि अहिलेसम्म धरहराको टावर निर्माणको काम मात्रै सम्पन्न भएको छ । टावर निर्माणको काम सकिएपनि अझै गर्नु पर्ने काम धेरै नै छन् ।

ट्रिपल बेसमेन्ट, साइट पार्किङ, फिनिसिङ, वाइरिङ्ग लगायतका काम अझै सकिएको छैन। धरहरामा दुई वटा लिफ्ट र एउटा भ¥याङ निर्माण गर्ने भनिएपनि एउटा लिफ्ट अझै तयार भएको छैन । धरहरा अगाडि वनाउने भनिएको उद्यान, वाटर म्युजिकल फाउनटेन तथा मिन्ट संग्रहालय र भुकम्प संग्रहालय निर्माणको काम वाँकी नै रहेको मानन्धर वताउँछन् । धरहरामा निर्माण हुने सम्पुर्ण संरचनाको काम सकिन कम्तिमा २५ डिसेम्वरसम्म लाग्ने उनले वताए । ‘ कुल ३०८ करोडको लागतमा धरहरा सहितको संरचना वन्न लागेको हो’ उनले भने–‘त्यस मध्ये अहिलेसम्म करिव १६७ करोड जतिको काम भएको छ, अरु वाँकी छ।’

‘निर्माण नै सम्पन्न नगरी हतार–हतारमा किन उद्घाटन गरियो त?’ भन्ने प्रश्नमा भने उनले खास धरहराको चाहिँ निर्माण कार्य सकिएको वताए । ‘पहिला धरहरा मात्र थियो, त्यो ढल्यो। त्यसको पुनर्निर्माण त सकियो’ उनले भने–‘अन्य थप भएका नयाँ संरचनाको काम चाहिँ वाँकी छ।’ धरहरा कहिले वनि सक्छ ? भन्ने सर्वसाधारणको कौतुहता र जिज्ञासालाई सम्वोधन गर्न ढलेको धरहराको काम सकिएपछि उद्घाटन गरिएको उनले प्रष्ट्याए । उनले थपे–‘आईकनको रुपमा रहेको टावर (भिमसेन स्तम्भ) निर्माण भईसकेको छ। त्यसैले त्यसको चाहीँ उदघाटन भयो।’

धरहरा पुनर्निर्माणमा विज्ञका रुपमा काम गरिरहेका राजुमान मानन्धरसँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईले गरेको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

 

विशेष