News

स्वास्थ्य मन्त्रालय भन्छ– तत्काल थप खोप आउने अवस्था छैन

स्वास्थ्य मन्त्रालय भन्छ– तत्काल थप खोप आउने अवस्था छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको थप खोप तत्काल आउने अवस्था नभएको जनाएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नरहेको जानकारी दिएको हो।

मन्त्रालयले भनेको छ, ‘औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिसिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको छ। भारतको सिरम इन्स्टिच्युट इन्डियाले नेपाललाई खोप दिन प्राथमिकतामा राखेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ।’

नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको सूचनामा उल्लेख छ। ‘नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाटसमेत प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

साथै मन्त्रालयले कोभिसिल्ड खोप खरिदबारे प्रकाशित समाचारहरूको सन्दर्भमा गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ। कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैँले निर्णय गर्ने भएकोले स्वास्थ्य मन्त्रालय संलग्न नहुने मन्त्रालयले स्पष्ट पारेको छ।

सेरम इन्स्टिच्युटबाट ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्न मन्त्रालयले अग्रिम रकम भुक्तानी गरिसके पनि बिचौलियाहरुका कारण रोकिएको समाचार बाहिरिएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ। 

विशेष