राष्ट्रिय सभा सदस्यका लागि वादल, खिमलाल र कृष्णवहादुरको भिडन्त

बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि तीन जना उम्मेदावर मैदानमा उत्रिएका छन् । शुक्रबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर गृहमन्त्री रामबहादुर थापा, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।
गृहमन्त्री थापाले नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिएका छन् भने डा. देवकोटाले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छन्। उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको साथ छ।
तामाङले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट उम्मेदवारी दिएका हुन्। बाग्मती प्रदेशबाट निर्वाचत राष्ट्रिय सभा सदस्य गृहमन्त्री थापा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो।
थापाले दल त्याग गरेपछि उनको स्थान रिक्त भएको थियो। त्यहि बाग्मती प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यका लागि ६ जेठमा उपनिर्वाचन हुन लागेको छ।