News Breaking News मुख्य समाचार राजनीति

जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा

जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव मधेशको मुद्दा थाँती राख्दै पुनः सत्तामा सहभागी हुन अग्रसरता देखाएका छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भइसकेका यादव पुनः सरकारमा सहभागी हुन चाहेका हुन् ।
यसअघि बर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा गएको तत्कालिन उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी (सपा) झण्डै दुई बर्ष सरकारमा रह्यो । मधेशको मुद्दा सम्बोधन गर्ने विश्वास लिएर सरकारमा गएका उनलाई शुरुमा उप प्रधान तथा स्वास्थ्य मन्त्रालय दिएपनि पछि कानुन मन्त्रालयको जिम्मेबारी दिइएको थियो । त्यसपछि उनलाई प्रधानमन्त्री ओलीले नै सरकारबाट बाहिरिन एक किसिमको दवाव दिएपछि उनले सरकार छाडेका थिए ।
त्यहीं भएर ओलीसँग चिढिएका यादव अहिले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग मिलेर सरकारमा जाने दाउमा छन् । उनी पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नजिकिएका पनि छन् । यादव अहिले केपी ओली बाहेकका सरकारमा जान पार्टी फोडन समेत तयारी गरिरहेका छन् ।
जसपाकै एक पक्ष ओलीलाई सघाउने पक्षमा छन् भने यादव विगतमा आफूलाई सरकारमा भएको बखत गरेको व्यबहारले ओलीलाई मान्न तयार छैनन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले ओलीतिर लाग्दा मधेशका मुद्दा सम्बोधन हुने विश्वास गरेका छन् । जसपाको मुख्य मागहरू सांसद रेशम चौधरीको रिहाइ र अन्य मधेसी तथा थारु आन्दोलनकारीहरूमाथी लगाइएको मुद्दाहरू फिर्ता लिनु रहेको र ती मागहरु पूरा हुने ठाकुर–महतो पक्षको भनाई छ । यसो त ओली सरकारले गत साता मात्रै मधेश आन्दोलको क्रममा लगाइएको १ सय २० जनाको मुद्दा फिर्ता पनि लिइसकेको छ । ठाकुर–महतोसँग ओलीले नागरिकता र संविधान संशोधनसँग सम्बन्धित अन्य मुद्दाहरू पनि छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
जसपाकै एक पक्षले नेपाली राजनीतिमा प्रचण्ड लगायत धेरै नेताले मधेसका यी मागहरूमा सहयोग पुयाउने वाचा गरेपनि कसैले पूरा गरेका छैनन् । प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई प्रधानमन्त्रीको रूपमा रहँदा समेत मधेश मुद्दाको सम्बोधन हुन नसकेको उनीहरुको बुझाई छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा ’सरकार गठनका लागि पहल गर्ने’ औपचारिक निर्णय गरे लगत्तै जनता समाजवादी पार्टी अध्यक्ष यादवको भूमिका बढेको छ ।
नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने भएपछि अध्यक्ष यादव पनि सरकारमा सहभागी हुने संकेत देखिन्छ । ओलीलाई सत्ताबाट हटाउन उनले प्रचण्ड संग पार्टी एकता गर्न पनि तयार रहेको जसपा एक नेताले बताए ।
नयाँ सरकार गठनलाई लिएर दुईथरी धार रहेको भनिएको जसपा अब त्यसबारे खुल्नुपर्ने अवस्था आउने देखिन्छ । तर औपचारिक निर्णय जे भएपनि उपेन्द्र ओली विरुद्ध प्रचण्डसंगै रहने देखिन्छ । मधेशको मुद्दामाथि कुनै चिन्ता नरहेका यादव नयाँ सरकारमा गृहमन्त्री बन्ने कसरतमा लागेका छन् । उनी प्रचण्डसंग सरकारमा जान कुनैपनि सम्झौता गर्न तयार रहेको देखिन्छ ।

सरकारमा रहँदा विदेशै विदेश, बाहिर आउँदा मधेश

यादव केपी ओली नेतृत्वको सरकारमा रहँदासम्म मधेशको मुद्दाबारे कुनै चर्चा नै गरेनन । उनी सरकारमा रहँदा विदेश भ्रमण र पैसा कमाउन व्यस्त देखिए । ओली सरकारमै सहभागी रहेका एक मन्त्री भन्छन्, “उहाँ त्यती बेला मधेशको मुद्दाका बारेमा चर्चा गर्दा केही हदसम्म समाधान हुन्थ्यो होला । तर यादवजी लाई विदेश भ्रमण बाटै फुर्सद भएन ।”
हुन त उनी सरकारमा रहँदा एक वर्षमा २५ वटा देश भ्रमण गरेको चर्चापनि संचार माध्यमहरुले गरिसकेका छन् ।
यादव कुनैपनि सरकारमा रहँदा आफ्नै फाइदाको लागि मात्र काम गर्ने रुचि राख्ने व्यक्तिको रूपमा चिनिन्छन् । यादवले २०६६ मा २२ बुंदे सम्झौतामा हस्ताक्षर गर्दा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २२ बुँदे सम्झौतामा उल्लेखित सबै मागहरूलाई सम्बोधन गर्न सम्भव नभएको बताएका थिए । यसमा यादवले ‘कसैले मधेसीका माग सम्बोधन गर्न चाहन्छ’ भनेर टिप्पणी गरेका थिए ।
त्यति खेर त्यो सम्झौता उपेन्द्र यादव आफू सरकारमा सामेल हुनको लागि मात्र गरेका थिए । यादव आफू सरकारमा त्यतिखेर पनि प्रधानमन्त्री खनाललाई कुनै पनि मागहरू सम्बोधन गर्न दबाब दिएनन । यादव बारम्बार प्रमुख दलहरूसँग सम्झौता गरेर सरकारमा सामेल भए । मधेसी भावनामा शक्तिको आनन्द उठाए र आफ्नै नातेदारलाई मात्र फाईदा पुर्याए । त्यहीं भएर होला मधेश आन्दोलनमा सहिद भएकाको परिवारले हालसम्म न्याय पाउन सकेका छैनन् ।

ठाकुर र महतो पनि रणनीति बनाउनमा व्यस्त

ठाकुर र नेता महतोबिच असमझदारी भएको खबरहरु आइरहेका छन् । तर निकट नेताहरुका अनुसार महन्थ र राजेन्द्र मधेस जित्नेगरी रणनीति बनाउनमा व्यस्त छन् । उनीहरु सत्ता भन्दा पनि मुद्दा सम्बोधन गरेर मधेस जिताउने रणनीतिमा छन् । यसका लागि अर्को हस्ताक्षर अभियान समेत सञ्चालनको तयारीमा छन् ।
तर बाहिर भने महतोले महन्थको साथ छाडेको खबरहरु छ्यापछ्याप्ती आइरहेका छन् । नयाँ सत्ता गठबन्धनको समयमा कार्यकर्तामाझ तिक्तता बढाउन उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले हुँदै नभएको हल्ला फैलाउन सक्रिय भएको ठाकुर निकटको भनाई छ ।
अध्यक्ष ठाकुर र नेता महतोबीच खटपट सुरु भएको र महतोले ठाकुरको साथ छोडेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको जसपाका केन्दीय सदस्य संजय यादव बताउँछन् । उनले पार्टीभित्र नेताहरु आन्तरिक छलफलमा रहेकोले छिट्टै बैठक बसेर ठोस निर्णय लिने पनि बताए ।

विशेष