News राजनीति

कोरोना खोप खरिदमा भएको कमिसन प्रकरणको छानवीन गर्न नेता पौडेलको माग

कोरोना खोप खरिदमा भएको कमिसन प्रकरणको छानवीन गर्न नेता पौडेलको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाईरसको खोप खरिदमा भएको कमिसन प्रकरणको आवश्यक छानवीन र त्यसमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

शनिवार साँझ सामाजिक सञ्जाल फेसवुक मार्फत प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले यस्तो माग गरेका हुन् ।

गत २३ फागुनमा सबै नेपालीलाई खोप दिने भन्दै प्रधानमन्त्रीले गरेको प्रतिवद्धता विपरित सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको वताएका उनले सोहि कारण नागरिकलाई सहज र सर्वसुलभ रुपमा महामारीमा खोप दिलाउने दायित्वबाट विमुख भएको जनाएका छन् ।

‘अहिले पनि कमिसनको चक्करमा भारतबाट ल्याउने भनिएको खोप अझै सुनिश्चित नभएको र किन्न लागिएको खोप पनि चार गुणा बढी मूल्यमा बेच्न अनुमति दिएको भन्ने खबरले सरकारको निर्लज्जताको पराकाष्ठा उदांगिएको छ’ उनले लेखेका छन्–‘एकपछि अर्को भ्रष्टाचार र कमिसनको जञ्जालमा बेरिँदै यहाँसम्म आईपगेको यो सरकार कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन तिब्र रुपमा बढीरहँदा सङक्रमितको उपचारको लागि शैय्या, आइसीयू, भेण्टिलेटर, अक्सिजनसहितका औषधोपचार, आवश्यक जनशक्तिको खटनपटन तथा जोखिम भत्ता वितरण, आइसोलेसन वा होल्डिग सेण्टर सहितको व्यवस्थापनमा चुकिरहेको कुरा अस्पतालमा देखिएको बिरामीको चित्कारले प्रष्टयाउँछ ।’

पौडेलले वर्तमान सरकार राजनीतिक रुपमा असंवैधानिक, अलोकतान्त्रिक र अनैतिक क्रियाकलापमा चुर्लुम्म डुबेको आरोप लगाउँदै भ्रष्टाचार र कमिसनका लागि जनतालाई सर्वसुलभ रुपमा दिनुनर्पे खोप लगायतका संविधान प्रदत्त स्वास्थ्य सुविधा र दायित्वबाट किमार्थ विमुख हुन नपाउँदैने जनाएका छन् ।
 

विशेष