News

दोलखाको भीमेश्वरलाई पसिना आयो, देखियो अनिष्टको संकेत

दोलखाको भीमेश्वरलाई पसिना आयो, देखियो अनिष्टको संकेत

दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ ।

मन्दिरको ड्युटीमा रहेका सुरक्षाकर्मीले मुर्तिमा पसिना देखिएको जानकारी गराएका छन् । यस सम्वन्धमा गुठी र पुजारीले त्यहाँका सिडिओ वासुदेव घिमिरेलाई पनि जानकारी गराएको वताईएको छ। गत वर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।

०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

यो धार्मिक बिश्वासको संयोग मात्रै हो या यसमा केही तथ्य पनि लुकेको छ ! भन्न सकिन्न तर, दोलखा भीमसेनलाई पसिना आउनु र मुलुकमा केही बिपत्ति आउनुमा गजबको तादात्म्यता मिलेको पाइन्छ ।

किम्वदन्ती अनुसार पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी श्री गौरी शंकरको प्रार्थना गरेका थिए । कालान्तरमा भरियाहरूले भात पकाउनको लागि २ ओटा ढुङ्गा खोजी ल्याएर यही त्रिभुजमा जोडी चुलो वनाए। भात पकाउदा त्रिभुज तर्फको भात काँचै भएकोले रीसले हिर्काउदा दाहिने तर्फ चोइटा गई दुध र रगत मिश्रित तरल पदार्थ वनेको वताइन्छ।

१२ जना भरियाहरू डराई भगवान सम्झेर माफी मागेको र पूजाआज गरी आफनो बाटो लागेको भन्ने मान्यता अझै कायमै छ। २०३०÷३१ सालसम्म सुनखानीका तिनै १२ भाई भरियाका सन्तानहरूले प्रत्येक बडा दशैको अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन थियो। पछि राजा÷महाराजाहरूले पनि पूजा गरी जग्गा जमीन गुठी राखेको र सुनचाँदीका गहना समेत चढाएको पाईएको छ।

यहाँ बडा दशै, चैते दशै, कार्तिकमा महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा बन्धन आदि पर्वहरूमा विशेष पूजा र भिड लाग्ने गर्दछ भने बडा दशैमा ३ राँगो, १२ बोका, हाँस, कुखुराको विशेष बलिपूजा गरिन्छ।

भीमेश्वरलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ । जानकारी अनुसार विसं १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि भिमसेनको मुर्तिमा पसिना आएको थियो।

यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरवारमा अकल्पनिय घट्ना भयो भन्ने जानकारहरु वताउँछन् । स्थानीयहरुका अनुसार भीमसेनको मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले–पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पूजा पठाउने चलन रहेको थियो । 

विशेष