News स्वास्थ्य

प्रदेश २: संक्रमितको उपचारमा सकस, सरकार वैठकमै ब्यस्त

भारतीय सिमा अस्तब्यस्त, सुरक्षा तयारी सुन्य

प्रदेश २: संक्रमितको उपचारमा सकस, सरकार वैठकमै ब्यस्त

वीरेन्द्र रमण
जनकपुर– बाक्लो बस्ती र सबैभन्दा बढी जनघन्त्व रहेको प्रदेश–२ मा कोरोना संक्रमणको कहर बढ्दो छ । भेन्टिलेटर, आईसीयू लगायतका उपकरणको अभावमा सर्वसाधारणले उपचार पाउन सकेका छैनन् । भारतमा कोरोनाको स्थिति भयावह रहेपनि सीमानामा कुनै सर्तकता अपनाइएको छैन । प्रदेश सरकारले कोरोना संक्रमण रोक्नको लागि जुन रुपमा कार्यहरु गर्नुपर्ने हो त्यसमा आभाव देखिएको छ ।
  
कोभिड १९ को नयाँ भेरियन्ट सहित बढ्दो संक्रमण नियन्त्रण तथा उपचारका लागि भेन्टिलेटर, अक्सिजन, आइसोलेशन, क्वारेन्टीन व्यबस्थापन गर्नुको साटो प्रदेश– २ सरकार संगीतका साधन बाड्न ब्यस्त छ । पहिलो लहरका बेला कोरोना संक्रमण फैलिन नदिन भारत लगायत तेस्रो मुलुकबाट घर फर्केका मानिसलाई कम्तीमा १५ दिन अनिवार्य क्वारेन्टीनमा राख्ने प्रत्येक स्थानीयतहले व्यवस्था मिलाएका थिए, तर यस पटक भने त्यो ब्यवस्था पनि देखिएको छैन ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि भारतबाट निर्वाध आउने क्रम रोकिएको छैन । स्वास्थ्य परीक्षण र क्वारेन्टीनको व्यबस्था गरिएको छैन । नेपाली काग्रेसका संसदीय दलका नेता राम सरोज यादवले सरकारको तयारीको अवस्था शुन्य जस्तै देखिएको बताए । उनले भने–‘सरकार दिनहुँ वैठक गर्छ। भाषणमा काम गर्देै छौ भन्छ। तर, काम भने कतै देखिएको छैन। सरकारको यहि रवैयाले प्रदेश–२ को अवस्था निकै जटिल वनेको छ।’

भारतसँग खुल्ला सीमाना रहेको प्रदेश–२ का आठै जिल्लामा घना बस्ती र बाक्लो जनघनत्व रहेका कारण  कोभिड–१९ को नयाँ भेरियन्टको अत्याधिक खतरा छ । केन्द्रदेखि प्रदेश सरकारसम्मले सीमामा कडाइ गरिएको बताए पनि भन्सार नाका भने अस्तब्यस्त छन् । संक्रमण तिव्र भइरहेको भएपनि स्थानीय सरकार चुपचाप छन्।  संक्रमणको दर बढि रहेको छ भने सरकारी तयारी शुन्य जस्तै देखिएको छ । प्रदेश– २ मा सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ८० छ । जसमा पुरुष २ हजार ६ सय ६२ रहेका छन । त्यसैगरि महिला १ हजार १ सय १८ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी प्रदेश २ मा अहिले २ सय ३९ जनाको मृत्यु भईसकेको छ। जसमा सप्तरीमा ४२, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतटहमा ११, बारामा २६ पर्सामा ६९ जना रहेका छन ।

प्रदेश २ मा अहिले सम्म १७ हजार २६ जनाले कोरोना जितेका छन ।  

जानकी मेडिकल कलेजले सुरु गर्यो संक्रमितको उपचार
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढि रहेपनि अस्पतालमा सेवा सुविधा नवढ्दा विरामीले उपचार नै नपाउने अवस्था आएको छ। यहि अवस्थालाई ध्यानमा राखेर निजी अस्पतालले पनि कोरोना संक्रमितको उपचार सुरु गरेका छन् ।

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजले संक्रमित बिरामीको उपचारका लागि औषधि र अक्सिजनको शुल्क बाहेक अन्य सबै सेवा निःशुल्क हुनेगरी उपचार गर्ने कलेजका महाप्रबन्धक श्रीप्रष्ट पाण्डेले जानकारी दिए । उनले भने, ‘हामीसँग दुई सय शैय्याको अस्पताल तयारी अवस्थामा छ । बुधबारबाट २० शैय्याको अक्सिजनसहितको र ६ शैय्याको भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका हौँ ।’

तत्काल अक्सिजन अभाव रहेको र आफूहरुसँग आइतबारसम्म अक्सिजन पाइपलाइन लगायतका थप उपकरण आइसकेपछि अझै वृहत रुपमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याउने उनले बताए ।


एक वर्षमा पनि प्रदेश सरकारले बनाउन सकेन अस्पताल
कोरोनाको पहिलो लहरकै क्रममा प्रदेश सरकारले जनकपुरको रजौलमा रहेको मणिपाल अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी गरेको थियो । तर, त्यसको एक वर्षसम्ममा पनि त्यसको तयारी पुरा भएको छैन। दोश्रो लहर सुरु भएपछि फेरि सोही ठाउमा अस्पताल बनाउने तयारी सुरु भएको छ। प्रदेश सरकारले जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोग विहिन अवस्थामा रहेको मणिपाल शिक्षण अस्पतालको भवनलाई कोभिड अस्पतालको रुपमा विकास गर्ने तयारी थालेको जनाएको छ।

हुनत प्रदेश सरकारले कोरोनाको पहिलो लहर आउँदा समेत मणिपाल शिक्षण अस्पतालको सो भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्ने बताएको थियो । तर, प्रयोगमा भने आउन सकेन।

कोरोना संक्रमण फेरी तीव्र गतिमा फैलिन थालेपछि २० दिन भित्रै प्रयोगमा ल्याउने गरी मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई कोरोना अस्पतालको रुपमा विकास गर्ने सरकारले जनाएको छ ।

गत वर्ष मुख्यमन्त्री लालबाबु राउतले मणिपाल शिक्षण अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्ने घोषणा गरेको केही महिना नबित्दै कोरोनाको लहर कम हुँदै जान लागेपछि त्यसको नाउँमा बजेट त खर्च भयो तर काम भने अगाडी बढ्न सकेन । एक वर्षमा पनि बन्न नसकेको मणिपाल शिक्षण अस्पतालको जिर्ण भवनलाई कोभिड अस्पतालको रुपमा विकास गर्ने तयारी फेरी थालिएको हो ।

यसका लागि प्रदेश सरकारको एक टोलीले भवनको निरिक्षण समेत गरेको छ । त्यहाँ २० आइसीयु बेडसहित १ सय शैय्याको कोभिड अस्पताल संचालनमा ल्याइने मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक एवं सिनियर डिविजनल ईन्जिनियर भगववान झाले जानकारी दिए । उनका अनुसार त्यहाँ निरिक्षण गरेर मुचुल्का उठाउनुका साथै अनलाइन टेण्डरको प्रकृया समेत पूरा भई सकेको छ ।

निरिक्षणको क्रममा भवनको १२ वटा कोठा ताल्चा लागेको, २२ वटा कोठामा झ्याल ढोका नरहेको, भएका ढोकाहरु पनि जिर्ण अवस्थामा रहेको, २ वटा कोठाको छत चुहिएको तथा रंगरोगन नभएको पाइएको ईन्जिनियर झाले बताए ।

उनले अस्पताल सञ्चालनका लागि जनशक्ति भर्नाको प्रकृया समेत अगाडी बढाई सकिएको जानकारी दिए ।
भवनमा खानेपानी, वाथरुम फिटिङ्ग, प्लम्बिङ्ग, वायरिङ्ग, प्लास्टर लगायतका कार्य गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

निरिक्षणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठ, जनकपुरधाम उपमहानगरपालिका–१४का वडा अध्यक्ष पुण्य प्रताप यादव, वडा सदस्य उपेन्द्र बिमल साह, नागरिक समाजका मुरलीमनोहर मिश्र र संगमलाल राउत, मणिपाल शिक्षण अस्पताल व्यवस्थापनमा रहेका सेक्युरिटी कमाण्डर योगेन्द्र कार्की, बिबि लोपचन, कृष्ण कार्की सहितको उपस्थिती थियो । 

विशेष