News राजनीति

उपेन्द्रको चटारोः अध्यक्ष ठाकुरसहित ४ नेतालाई कारबाही गरेको पत्र आयोगमा

उपेन्द्रको चटारोः अध्यक्ष ठाकुरसहित ४ नेतालाई कारबाही गरेको पत्र आयोगमा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाइएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुरसहित, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णले पार्टी विधान विपरीत काम गरेकोले पार्टीबाट निष्कासन गरेको जनाएको छ । 

‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ (१, २ र ३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिन्छ ’ अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । निर्वाचन आयोगमा उक्त पत्र दर्ता भइसकेको छ । दर्ता नम्बर १३४१ रहेको छ ।  

जसपामा केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद चर्किँदो छ । ठाकुर–महतो पक्षले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । उता भट्टराई–यादव समूहले भने ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्ने बताउँदै हस्ताक्षरसमेत गरिसकेको छ । 

यसैविच बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । 

७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।

११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएका यादवले मंगलबार बैठक राखेर निष्कासनको निर्णय गरेका हुन् ।

ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ । १५ जेठमै ठाकुरले अर्का अध्यक्ष यादवलई २४ घण्टे स्पष्टीकरण पत्र पठाएका थिए।

विशेष