News

कोरोनाको कहरः मंसिरमा विहे, श्रीमानको मृत्यूपछि श्रीमतीले गरिन् झुण्डिएर आत्महत्या !

कोरोनाको कहरः मंसिरमा विहे, श्रीमानको मृत्यूपछि श्रीमतीले गरिन् झुण्डिएर आत्महत्या !

कोरोना संक्रमणको कारण श्रीमानको मृत्यू भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । उप क्षेत्रिय अस्पताल डडेल्धुरामा उपचाररत बाजुराका सुरेश कठायतको मृत्यू भएपछि उनकी श्रीमतीले सरिताले अस्पताल नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

 

बाजुराको खप्तड छेडेदह गाउँपालिका ७, लम्गाउँ कठायतबाडाका २८ बर्षिय सुरेश कठायतलाई कोरोना संक्रमण भए पछि थप उपचारका लागि जेठ २ गते उपक्षेत्रिय अस्पताल डडेल्धुरा ल्याइएको थियो । उनकी श्रीमती सरिता साथमा कुरुवा आएकी थिइन ।

 

उनका श्रीमानको शनिवार विहान उपचारको क्रममा मृत्यू भएको थियो । डाक्टरले सुरेसलाई मृत घोषित नगर्दै विहान साढे सात बजे तिर अस्पतालको आइसियु कक्षबाट बेपत्ता भएकी उनि साँझ ५ बजे तिर अस्पताल भन्दा २ सय ५० मिटर टाढाको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरिक्षक राजेन्द्र चन्दले बताए ।

 

प्रारम्भिक अनुसन्धान र परिवार संगको सोधपुछबाट श्रीमानको मृत्यूको पिडा सहन नसकेर आत्महत्या गरेको बुझिएको प्रवक्ता चन्दको भनाई छ । ‘लामो समयको प्रेम पछि गएको मंसिरमा मात्रै विवाह गरेका रहेछन’ प्रहरी निरिक्षक चन्दले भने ‘अहिले सम्म बुझ्दा अन्य कारणले नभई श्रीमानको वियोगको पिडा सहन नसकेर आत्महत्या गरेको देखिएको छ । यसवारेमा थप अनुसन्धान हुदैछ’ उनले पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाइएको बताए ।

 

मृतकका परिवारका सदस्यले पनि पति वियोग सहन नसकेर सरिताले आत्महत्या गरेको हुन सक्ने बताए । बैसाख ३० गते कोरोना संक्रमण भए पछि सुरेसलाई उपचारको लागि जिल्ला अस्पताल बाजुरा ल्याईएको र उनको अवस्था गम्भिर हुन थाले पछि सरिता निकै तनावमा रहेको मृतकका काका विरवहादुर कठायतले बताए ।

 

‘कोरोना संक्रमित छ भने पछि हामीले नजिक जान र छुन सकिरहेका थिएनौ’ उनले भने ‘बुहारीले सिधै बेडमै गएर अंगालो हालेकी थिई । सुरु देखी नै उ तनावमा थिई’ बाजुरा अस्पतालमा अक्सिजन अभाव भएकोले उनलाई डडेल्धुरा रेफर गरेर पछि आफु, मृतकका भाई र श्रीमती संगै डडेल्धुरा आएको उनले बताए ।’

 

हामी सबै आइसियुमै बसेका थियौं । विहान तिर उ (मृतक सुरेस) सुस्ताए जस्तो भए पछि जुरुक्क उठेर हिडेकी हो । हामीले त ट्वाइलेट गई होली सोचेका थियौं । उसले त सिधै गएर आत्महत्या गरिछे’ उनले भने । एकै परिवारका छोराबुहारीको संगै मृत्यू भएको घटना पछि परिवार मात्रै नभएर छेडेदहको कठायत गाउँ नै शोकमा डुवेको छ । 


मृतक सुरेश काठमाण्डौमा एमएस्सी अध्ययन गरि लोकसेवाको तयारी गरिरहेका थिए । उनले दुई ठाउँमा शाखा अधिकृतको परिक्षाको प्रथम पत्रमा नाम निकालेको थिए । मृतक सरिता स्थानिय सरस्वती माध्यामिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन ।

 

लामो समय देखी प्रेममा रहेका उनीहरुले गत मंसिरमा परिवारका सदस्यलाई जानकारी नदिई कैलालीको गोदावरी धाममा भागेर विवाह गरेका थिए । ‘दुबै जना घरको मात्रै नभएर गाउँकै आशाका केन्द्र थिए । एकअर्कालाई पनि अति माया गर्थे । उनिहरुको प्रेम दैवले देखि सहेन’ वीरवहादुरले भने ।

 

साईपाल खबरमा खबर छ 

विशेष