News राजनीति

काँग्रेसको पहिलो सरकार बन्यो, कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीमा मुख्यमन्त्री

काँग्रेसको पहिलो सरकार बन्यो, कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीमा मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । संघीयता कार्यान्वयन पश्चात गठन भएका प्रदेश र संघीय सरकार मध्ये नेपाली काँग्रेसले पहिलो पटक सरकार चलाउने अवसर पाएको हो।
 
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभामा बहुमत दाबी गरेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन । 

पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पुख्र्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बनेका थिए ।

पोखरेलले आजै शपथ लिने तयारी गरेका छन्। गठबन्धनका दलहरुले आन्तरिक तयारी गर्न नपाएकाले आज मुख्यमन्त्रीले मात्रै शपथ लिने नेपाली कांग्रेसका प्रदेश सांसद विष्णु लामिछानेले बताए। 

बिहीबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि अल्पमतमा परेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज ३२ जना सांसदको समर्थन रहेको दाबी पेश गरेपछि प्रदेश प्रमुख पौडेलले प्रतिनिधिसभा विघटनको सिको गर्दै विपक्षी गठबन्धनको बहुमतलाई पन्छाउने र गुरुङले प्रदेशसभा विघटन गर्ने आशंकामा उनीहरुले धर्ना दिएका थिए ।

संविधानसम्मत विपक्षी गठबन्धनको बहुमत बमोजिम नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि नबढाएको भन्दै गण्डकी प्रदेशका ३१ जना सांसदले प्रदेश प्रमुख पौडेलले निवास अगाडि धर्नामा थिए ।

हिजो विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र एक जना सांसद गरी ३१ जनाको बहुमत पुर्याएका थिए ।

कृष्णचन्द्र नेपाली पोखरेल

विशेष