News

निर्वाचन तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

निर्वाचन तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खगराज अधिकारीले निर्वाचन तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री भएपछि शनिबार पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका उनले आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि तय भएको निर्वाचन सुरक्षा तयारीमा केन्द्रीत हुन निर्देशन दिए ।

अधिकारीले सातवटै प्रदेश प्रहरी प्रमुखहरुलाई समेत भिडयो सम्बोधन मार्फत मातहत क्षेत्रको शान्ति सुरक्षा प्रभावकारी तथा अपराध अनुसन्धान÷नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका थिए ।

अधिकारीले शान्तिसुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र सांगठनिक संरचनाबारे जानकारी लिएका थिए ।

कोभिड संकटकाबीच अपराध अनुसन्धान तथा नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन र संकट विरुद्ध चालिएका प्रतिकार्य योजना कार्यान्वयनमा प्रहरीले निर्वाह गरेको योगदान अतुलनीय रहेको बताए।

गृहमन्त्री अधिकारीले कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

यसैगरी, सशस्त्र प्रहरी बल (एपीएफ) प्रधान कार्यालयको निरीक्षणमा पुगेका मन्त्री अधिकारीले नेपालको भूमि अतिक्रमण अस्वीकार्य रहेको बताए। नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको र त्यसलाई बचाइराख्न देशको एक इन्च पनि भूमि कसैलाई अतिक्रमण गर्न नदिइने बताए ।

मन्त्री अधिकारीले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई सशक्त र साधनस्रोत सम्पन्न बनाइने पनि स्पष्ट पारे । ‘सदियौंदेखी सार्वभौम र सगरमाथाको देशका साथै कसैको पनि उपनिवेश नभएको नेपाललाई कसैको एक इन्च पनि जमिन चाहिदैन र हामी पनि आफ्नो भूमि अतिक्रमण स्वीकार्दैनौं,’ मन्त्री अधिकारीले भने, ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति मजबुद पारिएको छ, यसलाई अझ सशक्त बनाउछौं ।’

विशेष