मापसेको कमालः ज्ञानेन्द्र शाहीसँग गाउँलेको हात हालाहाल !
मापसे र अपशब्दको निहुँमा सामाजिक सुधारक ज्ञानेन्द्र शाहीको ११ सदस्यीय टोलीसङ्ग सुर्खेत सदरमुकाम नजिकका गाउँलेको हिजो शुक्रवार राती झडप भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कर्रेखोलाभन्दा तल गडगडे भन्ने ठाउँमा शाहीको टोलीले निषेधाज्ञा र महामारीबीच स्थानीय मानबहादुर बुढा र सीता आचार्यको घरमा बसेर खानपान गरेका थिए । ११ जनाको टोलीले ०२३ च ३९६८ को स्कोर्पियो,बा १९ च ४८१६ को कार र लु ७० प ८६४१ को मोटरसाइकल प्रयोग गरेका थिए ।
त्यहाँबाट निस्केको शाहीको टोलीमाथि खोलामा तार जाली र ढुंगाको काम गरिरहेका स्थानीय मजदुर युवाहरूसङ्ग अपशब्दसहित दुब्र्यवहार गरेको आरोप छ । युवाहरूले आफूहरूमाथि दुब्र्यवहार भन्दै गाउँले गुहारेका थिए । राती गाउँले उर्लिएर प्रतिकार गर्दा शाहीको टोली सामान्य घाइते भएको स्थानीयहरू बताउँछन् ।
शाहीको टोलीेले आज बिहानैदेखि आफूहरूलाई एमालेले पिटेको हल्ला गरेको छ । कर्रेखोलामा रहेका काँग्रेस वडा सभापतिले ‘एमाले,काँग्रेस केही होइन, उनीहरूले बदमासी गरेपछि गाउँलेले प्रतिकार गरेको’ बताएका छन् ।
यता,प्रहरीले भने मेडिकल चेक नगरी शाहीको टोलीलाई छाडेको स्थानीयको आरोप छ । गए राती नै प्रदेश अस्पतालमा उनीहरूको सामान्य उपचार भएको थियो । प्रहरीले गाउँले पाँच जनालाई भने पक्रेको छ । राती ११ बजे उक्त घटना भएको हो ।
ज्ञानेन्द्र शाही र टिम राती स्थानीय सीता आचार्यको घरमा खाना खाएर निस्केपछि होहल्ला हुँदा स्थानीय युवाले को हो ? किन हल्ला गरेको ? भनेको र अपशब्द बढ्दै गएर दोहोरो झडप भएको प्रहरीले बताएको छ । स्थानीयलाई दिउँसोको दुब्र्यवहार र अपशब्दको चोट पनि छँदै थियो ।
सामान्य घाइते भएका भनिएका शाहीको टोलीलाई कर्णाली प्रदेश अस्पतालले तत्काल डिस्चार्ज गरे पनि प्रहरीका एसपी राजेन्द्र बिष्टलाई फोनमा थर्काएको र आज बिहानदेखि सो को अडियो हालेर सामाजिक सञ्जाल र युट्युबमा हल्ला गर्न थालेको प्रहरीले बताएको छ ।
कोरोना महामारी रोकथामको लागि लगाएको निषेधाज्ञामा २ वटा गाडी र मोटरसाइकलमा यात्रा गर्दै हिंडेको टोलीलाई प्रशासनले मापसे परीक्षण नगरी छाडेकोमा स्थानीयले आपत्ति जनाएका छन् ।
प्रहरीका अनुसार घाइते भनिएका एक जनाको टाउकोपछाडिबाट हल्का रगत आएको छ । राती ९ बजे भिडन्तको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बस्नेतको कमाण्डमा ६ जनाको टोली त्यसतर्फ गएको थियो ।
जहाँ स्थानीय २ सय जनाको भीड उत्रिएको देखिएपछि फेरि पछि प्रहरी निरीक्षक कनकबहादुर शाहीको नेतृत्वमा २० जनाको टोली घटनास्थल पुगेको थियो । यही टोलीले सम्झाइबुझाई गरेर राती २ बजे स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको हो ।
शाहीको टोलीमा रहेकामध्ये ललितपुरको गोदावरी ५ बस्ने वर्ष ४० को भूतपूर्व प्रहरी हवल्दार राजेश महतोको टाउकोमा सामान्य चोट लागेको छ । शाहीको गाडी चलाउने नुवाकोट विदुर ३ का वर्ष २६ कृष्ण पाण्डेको टाउकोमा पनि सामान्य चोट लागेको बताइन्छ ।
त्यस्तै जुम्लाका ज्ञानेन्द्र शाही, बागलुङ नगरपालिका १ की वर्ष २८ की नितु खड्का र शाहीको टोलीमा रहेका वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३४ का लोक रोकाया सामान्य घाइते छन् ।
प्रहरीले स्थानीय २१ वर्षदेखि २८ वर्षसम्मका पाँच जना युवाहरू सुजनसारु मगर, ललित गाहा, टंक सलामी, घनश्याम सलामी, नवराज गिरीलाई हिरासतमा राखेको छ । ११ बजेको झडप साम्य हुँदा बिहानको २ बजेको थियो ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।