News

पहुँच हुने र गाडि चढ्ने ज्ञानेन्द्र शाहरीले जसो पनि गर्न पाउने ?– स्थानीय 

पहुँच हुने र गाडि चढ्ने ज्ञानेन्द्र शाहरीले जसो पनि गर्न पाउने ?– स्थानीय 

मादक पदार्थ सेवन गरी मध्येरातामा सर्वसाधारणलाई हातपात गर्ने र दुब्र्यवहार गर्ने ज्ञानेन्द्र शाहीको टोलीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेत बाहिर स्थानीयवासी धर्नामा बसेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१३, कर्रेखोला नजिकै अस्ति राती ११ बजेदेखि विहान २ बजेसम्म सदरमुकाम नजिकै शाहीसहित ११ जनाको टोली र सर्वसाधारणको झडप भएको थियो । शाहीको समूहले मादक पदार्थ सेवन गरेर गाउँलेमाथि हातपात गर्दै स्थानीय मजदुर नवराज गिरीलाई घाइते बनाएको बताएका छन् ।

आफूहरु राहत बाँडेर फर्कंदै गर्दा हातपात भएको बताइए तापनि शाही समूहले स्थानीय कसैलाई पनि राहत सामाग्री उपलब्ध नगराएको गाउँलेहरुले बताए। मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै आएको समूहमध्येका मोटरसाइकलमा सवार दुई जनाले गिरीमाथि ढुङ्गा प्रहार गरेको र पछाडि गाडीमा रहेकाहरुले पनि उनलाई कुटपिट गरेको स्थानीयको आरोप छ ।

‘म ज्ञानेन्द्र शाही हुँ, मलाई कसले के गर्छ ?’ भन्दै हातपात गरेपछि स्थानीयले प्रतिकार गरेको बताइएको छ । पहिला स्थानीयले गरेको सोधपुछमा उनीहरुले राहत बाँडेर आएको भने पनि लगत्तै अक्सिजन पुर्याउन आएको बताएका थिए ।

मोटरसाइकल तथा गाडीमा रहेका सबैले मदिरा सेवन गरेको बताउँदै उनीहरुसँग रहेका महिलाले समेत मदिरा सेवन गरेको गाउँलेको आरोप छ । निषेधाज्ञा र महामारीमा मापसे गरेर हिँडेका उनीहरुलाई प्रहरीले मापसे चेक नगरी राती नै छाडिदिएपछि घटनाले उग्र रुप लिएको थियो ।

घटनाबारे सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मोटरसाइकलमा आएकामध्ये पछाडि बस्नेले हेल्मेटले स्थानीय गिरीमाथि आक्रमण गरेका थिए । घटनाबारे आफूलाई धेरै जानकारी नरहेको बताउँदै प्रजिअ रिजालले शाही समूहलाई प्रहरीले पक्राउ नगरेको जानकारी दिए।

निषेधाज्ञामा राहत बाँड्न भनेर सुर्खेत पुगेका उनीहरुले हिजोदेखि सडकका खाल्डाखुल्डी पुरेको र सफा गरेको दृश्यको फेसबुक लाइभ गरिरहेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । शाही समूहले प्रहरीको समेत खेदो खनेको बताउँदै कानुन हातमा लिने अधिकार कसैसँग पनि नरहेको रिजालले वताए ।

उता, स्थानीयले भने ज्ञानेन्द्र शाहीको टोली एउटा गाडीमा सुर्खेतको गर्गरे भन्ने ठाउँमा परिचय नखुलेका सुवेदी भन्ने व्यक्ति को घरमा गएर ‘फाइटर भाले’ काटी स्याउको जस्तो बास्ना आउने रातो रंगको झोल सेवन गरेको बताएका छन् ।

अहिले प्रहरी कार्यालयअघि धर्नामा बसेका स्थानीयले ‘पहुँच पुगेकाले जे गरे पनि हुने ? मापसे चेक गर्नु आवश्यक थिएन ?’ भन्दै प्रश्न गरिरहेका छन् । उनीहरुले ‘मजदुर, गरिबको मापसे चेक हुने तर गाडीमा चढ्नेको नहुने,यो कहाँको नियम हो ?’ भन्दै जिल्ला प्रहरी कार्यालयसँग प्रश्न गरिरहेका छन् । 

ज्ञानेन्द्र शाही

विशेष