News

दुःख देखाएर चन्दाको ब्यापार गरिएकोमा अपाङ्गता भएकाहरुको प्रचन्ड आक्रोश

दुःख देखाएर चन्दाको ब्यापार गरिएकोमा अपाङ्गता भएकाहरुको प्रचन्ड आक्रोश

छोग्याल रिम्पोछेले जनवरी ४, २०१५ मा ‘जनवरी ३ सुन्दर दिन रहेको’ भन्दै एउटा फेसबुक स्ट्याटस लेखे। उक्त दिनमा ‘विआईए लेट्स ज्वाईन ह्याण्डस्’ नाम गरेको कार्यक्रम आयोजना गरिएको थियो। स्वदेशी तथा चीनियाँलगायत बिदेशी स्वयमसेबकसहित करिब ३ सय अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख आतिथीका रुपमा प्रदिपकुमार ज्ञवाली उपस्थित थिए ।

छोग्याल रिम्पोछे दयालु, मनकारी र सहयोगी भावना भएका बौद्ध धर्मगुरु हुन । सन १९८५ मा नेपालमै जन्मेका उनी स्विजरलैन्डमा बसोबास गर्छन। प्राय चीन, भारत, अमेरिका, युरोपलगायत विश्वभरी नै घुमिरहने उनले चीन, भारत, नेपाल र भुटानमा आफ्ना गतिविधि सञ्चालन गर्ने गर्छन। 

सुरुकै दिनमा रिम्पोछेले भिक्षु जीवन अपनाउने इच्छा राखे। सन २००० मा उनले भारतको हिमाचल प्रदेशमा बौद्ध दर्शनमा अध्ययन सुरु गरेका थिए । फेव्रुअरी २०१० मा उनले खेन्पो डिग्री हासिल गरे। नेपाल फर्किनु भन्दा पहिला उनले बेइजिङ्ग विश्वविद्यालयमा चिनियाँ भाषाको अध्ययन गरे र नेपाल फर्किए। नेपाल फर्किएपछि उनले काठमाडौंमा उनका वावुआमाले सञ्चालन गरेको अनाथाश्रमको जिम्मेवारी लिए। सन २०१४ मा उनले बीआईए (वोधिसत्व इन एक्सन) फाउन्डेसन स्थापना गरे। 

रिम्पोछे खासमा नेपाललाई आफ्नो सामाजिक तथा धार्मिक कामको केन्द बनाउन चाहन्थे। विआईए मार्फत नेपालमा सम्भाब्यताको आधारमा अपांगता भएका ब्यक्तीहरको प्रपोजल छनौट गर्ने, उक्त प्रपोजललाई प्रोजेक्टको रुपमा सन्चालनको ब्यवस्था गर्ने र विभिन्न ग्रुपहरु वनाएर प्रोजेक्ट सञ्चालन गर्ने उदेश्य राखिएको थियो ।

उक्त कार्यक्रममा ७ प्रोजेक्ट छानिएका थिए। रिम्पोछेको इच्छाअनुसार थप पाँच बटा प्रोजेक्ट थपेर १२ वटा प्रोजेक्ट सन्चालन गर्ने घोषणा गरिएको थियो । जसका निम्ति तत्काल १४६ जना अपांगता भएका ब्यक्तिहरुलाई छनौट गरिएको थियो भने थप अन्य ब्यक्तिलाई पनि समेट्दै जाने घोषणा रिम्पोछेले गरे।

प्रोजेक्टले अपाङ्गता भएका ब्यक्तीलाई सीप सिकाउने, रोजगार दिने र आएको आम्दानीको ठूलो हिस्सा उनिहरुलाई नै बाड्ने उदेश्य राखेको थियो । बाँकी पैसाले देसको कुना कन्दरामा, गाउँदेखि सहरसम्म सबै जिल्लामा प्रोजेक्ट सञ्चालन गर्ने र अपांगता भएका ब्यक्तिलाई सहयोग गर्ने योजना वनाईएको थियो ।

रिम्पोछेको घोषणालाई कार्यान्वयन गर्न काठमाडौका विभिन्न स्थानमा कोठा भाडामा लिइयो। प्रोजेक्ट सञ्चालन गर्न समानहरु किनियो। सबैभन्दा पहिले काठमाडौको बत्तिसपुतलीमा सिलाईकटाई संबन्धी प्रोजेक्ट सुरु भयो। त्यस्तै ठमेल, ग्वार्को, साखु, किर्तिपुरलगायतका स्थानमा प्रोजेक्टहरु सन्चालन भए। 

अपाङ्गता भएका ब्यक्तिहरु खुसी थिए। रिम्पोछेदेखि धन्य थिए। भविष्य सुनिश्चित हुने भन्दै खुसिले गदगद थिए। स्वदेशी तथा चीनियाँसहितका बिदेशी स्वयमसेवकहरु दयालु, मनकारी र सहयोगी भावना भएका बौद्ध धर्मगुरु रिम्पोछेलाई सहयोग गरिरहेका थिए।

तर, यो अवस्था लामो समय रहेन । अभियानमा सहभागि भएका स्वदेशी तथा बिदेशी स्वयमसेवकहरु बिच नै मोर्चाबन्दी हुन थाल्यो। बिदेशीहरुले आर्थिक सहयोग पनि गर्ने हुँदा उनिहरुको पल्ला भारी भयो। नेपालीहरु अपमानित हुँदै बिआईएबाट वाहिरिए । 

नेपालीहरु वाहिरिएपछि बिदेशीहरु बिचमा पनि बिबाद भयो। विवाद यति धेरै भयो कि दयालु, मनकारी र सहयोगी भावना भएका बौद्ध धर्मगुरु रिम्पोछेको पनि आलोचाना भयो। रिम्पोछेको कटु आलोचना गर्दै बिदेशीहरु तितर–बितर भए। त्यसपछि बाँकी रहे अहिलेका ब्यबस्थापक गोकर्ण ढुङ्गाना। उनी विआईएमा जागिर खान थाले। विआईएमा भएको अधिकांश नकारात्मक कर्ममा गोकर्णले ‘आगोमा घ्यु’ थपे झै काम गरेको नाम नखुलाउने सर्तमा एक युरोपेली स्वयम्सेवक बताँछन्। 

विआईए स्थापना भएको ६ बर्ष पुगेको छ। तर, विआईए स्थापनाको उदेश्य भने पुरा हुन सकेको छैन । ब्यवस्थापकको ब्यक्तिगत स्वार्थ र गलत कृयाकलापका कारण विआईएको अवस्था दिनप्रतिदिन खराव हुँदै गएको छ। 

विआईएमा रहेका अशक्त तथा अपांगता भएका ब्यक्तिहरु माथि नै श्रम शोषण भईरहेको पाईएको छ । विआईएमा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई सिप प्रदान गरेर थान्का, मुर्ति गलैँचा, डोका, मुर्ति आदि उत्पादन गर्ने गरिन्छ। उनीहरुले उत्पादन गरेका धूप, थान्का, एप्लिक, बाँसका डोका, डाला, मूर्ति, पस्मिनाका सल, गलैँचाजस्ता सामानहरु भने बिआइए इन्स्टिच्युटले विक्रि गर्दछ । विआइएको नारायणटार शाखामा करिब चालिस जना अशक्त व्यक्तिहरु सिप सिकेर सामान उत्पादन गर्ने गर्दछन् ।

आफैमा शारिरिक रुपमा अशक्त व्यक्तिहरुले दिनभरी कडा मिहिनेतका साथ उत्पादन गरेका सामानहरुको उचित ज्याला भने पाएकाछैनन् । आफ्नो मेहनत अनुसारको ज्याला नपाएका कारण अशक्त व्यक्तिहरु संस्थाको व्यवस्थापन प्रति रुष्ट छन् । जति धेरै मिहिनेतका साथ काम गरेपनि व्यवस्थापकले अशक्तहरुलाई महिनामा प्रतिव्यक्ति चारहजार मात्रै दिने गरेको छ । 

हुन त सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ । श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्ने पनि जनाईएको छ। तर, विआईएमा कार्यरत अपाङ्गता भएका ब्यक्तिहरुमा भने यो ब्यवस्था पनि लागु हुन सकेको छैन । 

उसो त अपाङ्गता भएका ब्यक्तिहरुका आफनै समस्या हुन्छन्। परिवारमा सहज घुलमिल हुन नसकेककै कारण उनीहरुले विआइए रोजेका हुन । उनीहरुका उपचार तथा दैनिक जिवन यापनका समस्या छन् । तर व्यवस्थापक ढुंगानाले अशक्तमाथि श्रम शोषण मात्र नगरेर मानसिक यातना समेत दिने गरेको आश्रममा रहेका एक जना अशक्तको दुखेसो छ । उनि भन्छन्, ‘म संस्था स्थापना भए देखिनै यहाँ बसिरहेको छु । मेरो मेरुदण्डमा चोट लागेपछि म यता आएको हुँ । मैले थान्कामा ड्रोईङ्ग गर्ने काम गर्छु । हामीलाई अहिले प्रति महिना चार हजार रुपैँया दिईन्छ । अघिल्लो महिनासम्म तिन हजार मात्रै दिने गरेका थिए । सबैजनाले पैँसा कम भयो भनेपछि यो महिना देखि एक हजार थपेर चार हजार दिने गरेकाछन् ।’

काम अनुसारको ज्याला माग्दा व्यवस्थापक ढुंगानाले अशक्तहरुलाई मानसिक यातना दिने गरेको पनि ति व्यक्तिले दुखेसो पोखे । ह्विल चेयरको सहयताले हिडडुल गरेर सात वर्षसम्म थान्का कोर्दै आएका ति अशक्त भन्छन्, ‘मैले सात वर्षदेखि थान्का कोर्दै आएको छु । पैँसा कम भयो भन्दा अझै सिक्न बाँकी छ भन्नुहुन्छ । यति मै गर्ने भए गर नत्र यताबाट गए हुन्छ भन्नुहुन्छ । हामी आफै शारिरिक रुपमा अशक्त छौँ कहाँ जानु । कहिलेकाहिँ त निक्कै रिस उठेर पनि आउँछ । तर के गर्ने हाम्रो नै अवस्था यस्तो छ ।’ 

संस्थामा उत्पादन हुने थान्का बजारमा पाईने थान्का भन्दा राम्रो हुने पनि उनी वताउँछन् । संस्थामा बनेको एउटा थान्का न्युनतम पनि पन्ध्र हजारमा विक्रि हुने गरको छ । थान्काको बनावट हेरेर पचास हजारदेखि एक लाखसम्ममा पनि थान्का विक्रि हुने व्यवशायीहरु बताउँछन् । 

संस्थामा बसिरहेका व्यक्तिहरुको संस्थापक रिम्पोछे प्रति भने कुनै गुनासो छैन । संस्थापक रिम्पोछेको बारेमा उनिहरु खुलेरै प्रशंसा गर्छन । उनले गर्दा आश्रय पाएकोमा रिम्पोछेलाई भगवान नै मान्छन् । 

अर्कोतर्फ ढुङ्गानाको जिवन शैली भने दिन दिनै फेरिदै गएको छ । उनी देश–बिदेश घुम्ने र महङ्गा गाडी चढ्ने गर्छन । उनले काठमाडौमै आलिसान घर बनाए । महङ्गो सैलुनमा कपाल काट्छन, महङ्गो रेस्टुरेन्ट चाहार्छन। उनको जिबनशैली एक्कासी परिबर्तन भयो। 

अहिले सबै प्रोजेक्ट नेपाल अपाङ्ग संघको एउटा आलिसान भबनमा सारिसकेको छ। किर्तिपुरमा पनि विआइएको थान्का र मुर्तिको प्रोजेक्ट सञ्चालनमा छ । बिआइएका संरचना पनि भब्य छन् । ३/४ वटा महँगा गाडी खरिद गरिएको छ। मिटिङ्गहरु प्राय पाँचतारे होटलमै हुन्छन् ।

तर, विआईएले थप प्रोजेक्ट भने सन्चालन गर्न सकेको छैन । जसका कारण रिम्पोछेको उदेश्य पनि अधुरो छ । अपाङ्गता भएकाहरुको जिवनस्तर पनि ‘ज्यूका त्यूँ’ छ। धेरैलाई जीवन धान्न नै धौ–धौ भएको छ। कतिपयले वाध्यताले छोडिसकेको एक ब्यक्तिले वताए । तर, अधिकांश अपाङ्गता भएका सयौं ब्यक्तिले भने अहिले पनि  विआईए छोड्न सकेका छैनन् । विआईका ब्यवस्थापकले अपाङ्गता भएका मानिसलाई झुक्याएर र अनेकौं प्रलोभन दिएर राखेका छन् । उनले अपाङ्गता भएका मानिसको दुःख देखाएर चन्दाको व्यापार गर्ने गरेको जानकारहरु वताउँछन्।

ब्यवस्थापक ढुङ्गानाले भने विआईएमा अपाङ्गता भएका ब्यक्तिको श्रम शोषण भएको र उनीहरुलाई दुःख दिईएको कुरा अस्विकार गरेका छन् । ‘विआईएको उदेश्य भनेको अपाङ्गता भएका ब्यक्तिहरुलाई पालेर राख्ने होईन, सिप सिकाउनु हो। उनीहरुलाई सिप प्रदान गरिएको छ। तर वहाँहरुले विआईए छोडन सक्नु भएको छैन’ उनले भने–‘भएकाहरुले छोडपछि पो हामीले अन्य ब्यक्तिलाई ल्याएर सिप सिकाउने हो ।’

विआईएमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको श्रम शोषण भएको विषयमा थप प्रस्ट पार्दै उनले भने–‘हामीले वहाँहरुलाई तलव दिएको होईन, काम गरे वापतको इन्सेन्टिभ दिएको हो।’

श्रम शोषण छोग्याल रिम्पोछे विआईए अपाङ्गता भएका ब्यक्ति

विशेष