News

विपक्षी गठवन्धनवाट नेपाल टाढिएको आशंका वढेपछि देउवा र प्रचण्ड कोटेश्वरमा

विपक्षी गठवन्धनवाट नेपाल टाढिएको आशंका वढेपछि देउवा र प्रचण्ड कोटेश्वरमा

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विचको भेटवार्ता कोटेश्वरमा जारी छ ।

नेता नेपालको कोटेश्वरस्थित निवासमा तीन जना नेताहरुको छलफलमा छन् । नेपाललाई भेट्न कांग्रेस सभापति देउवा र महामन्त्री पूर्णबहादुर खड्का कोटेश्वर पुगेका थिए। देउवा पुगेको केही समयपछि प्रचण्ड पनि कोटेश्वर पुगेका हुन्।

एमाले भित्रको विवाद समाधानउन्मुख रहेको चर्चाबीच देउवा र प्रचण्ड नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्। 

ओलीवाट टाढिदै गएको नेपाल पक्ष पछिल्लो समय फेरी एक हुन थालेको आभास भएपछि देउवा र दाहाल नेपाललाई भेटन पुगेका हुन् । बागमती प्रदेश र प्रदेश १ मा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गराउन एमालेका दुवै पक्ष एकठाउँ उभिएका छन्।  यी दुवै प्रदेशमा नेपाल पक्षको मत राम्रो छ। तर, दुवै प्रदेशमा ओलीपक्षका मुख्यमन्त्री छन्। 

एमालेको नेपाल पक्ष कांग्रेस र माओवादीसहितको विपक्षी गठबन्धनमा रहेको वेला यस्तो नतिजा आउन थालेपछि देउवा र दाहाललाई चिसो पसेको छ । नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समेत हस्ताक्षर गरेका छन्। जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदेशस्तरमा समेत सहकार्य गरेर जाने विपक्षी गठबन्धनले निर्णय गरेको थियो। जसअनुसार राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट नेपालनिकट खिमलाल देवाकोटा र लुम्बिनी प्रदेशमा कांग्रेसका दृगनारायण पाण्डे उम्मेद्वार बनाइएका थिए। यी दुवै उम्मेद्वारले एमाले उम्मेद्वारलाई पराजित गरेका थिए। 

देउवा र दाहालले यसै विषयमा केन्द्रित रहेर नेपालसँग छलफल गरिरहेको स्रोतको दावी छ ।
 

विशेष