News

यौन शोषणका लागि भारतीय सेनामा नेपाली युवतीको भर्ती खोलिएको भन्दै भिम रावलको आपत्ति

यौन शोषणका लागि भारतीय सेनामा नेपाली युवतीको भर्ती खोलिएको भन्दै भिम रावलको आपत्ति

युवाहरुलाई मात्रै भारतीय सेनामा भर्ती हुन पाउन प्रावधान भए पनि पछिल्लो समय नेपाली युवतीहरुका लागि पनि भर्ती खुला गरिएकोमा एमालेका नेता भिम रावलले आपत्ति जनाएका छन् । नेपाली युवतीहरुलाई यौन शोषण र मनोरञ्जनका लागि प्रयोग गर्न भारतीय सेनामा भर्ती खोलिएको रावलको भनाई छ । 

रावलले भारतीय सेनामा नेपाली महिलाको आह्वान भएकोमा आपत्ति जनाउँदै यो आह्वान तत्कालीन ब्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौता विपरीत भएको जनाएका छन् । उनले भने, 'गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो? केपी ओली कहाँ हुनुहुन्छ?  उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ? के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो? राष्ट्रियताको यस्तो गम्भीर विषयमा सरकार मौन बस्‍न मिल्छ?' 

ब्रिटिश इण्डियासँग गरेको कुनै पनि सम्झौतामा नेपाली महिलालाई भारतले आफ्नो सेनामा लिनसक्ने कुनै प्रावधान नभएको नेता रावलले जनाएका छन् । उनले भने, 'गोरखा भर्ती नै नेपालको सार्वभौमिकताविरुद्ध भएकाले यसलाई खारेज गर्नुपर्छ । सन्धी खारेज गर्न पहल गर्नुको साटो महिलाका लागि सूचना आह्वान गर्दासमेत सरकार मौन बस्नु खेदजनक छ ।' 

काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो । आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिनसक्ने उक्त सूचनामा उल्लेख गरिएको छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनोट हुने सूचनामा उल्लेख गरिएको छ । 

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएका युवतीले आवेदन दिन सक्ने जनाइएको छ । गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ । सूचनामा सैनिक,भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।

त्यसैगरि ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपालले भारतीय सेनामा अहिले आएर नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहेको जनाएका छन् । उनले नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धीविपरीत रहेको बताएका हुन् । 

उनले नेपाली पुरुषजस्तो महिलाहरुले विश्वयुद्ध लडेर वीरङ्गनाका रुपमा कहलिएको अवस्था नभएको उल्लेख गर्दै यौनशोषणबाहेक अरु उद्देश्य हुनै नसक्ने जनाएका छन् । भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत बुझेर रोक लगाउनुपर्ने उनको भनाइ छ ।

यौन शोषण भारतीय सेना नेपाली युवती

विशेष