News

दुवै मात्रा खोप लगाएकाले मास्क लगाउने/नलगाउने ?, यसो भन्छन् विज्ञ

दुवै मात्रा खोप लगाएकाले मास्क लगाउने/नलगाउने ?, यसो भन्छन् विज्ञ

अमेरिका लगायतका कतिपय देशमा कोरोनाको दुवै डोज खोप लगाईसकेकाले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेका छन् ।

खोपका आवश्यक मात्रा लगाइसकेका मानिसलले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्नु नपर्ने मापदण्ड ति देशहरुले वनाएका छन् । 

नेपालमा पनि अमेरिका लगायतका देशमा जस्तै खोपको दुवै मात्रा लगाएका व्यक्तिहरूले मास्क लगाउनु नपर्ने कतिपयको धारणा छ। तर चिकित्सक तथा विज्ञहरूले भने तुलनात्मक रूपमा समृद्ध राष्ट्रको व्यवस्था सिको गर्ने सक्ने अवस्थामा नेपाल नरहेको वताएका छन् ।

यति बेला विश्वभरि कोरोनाभाइरसका विभिन्न प्रकारहरू फैलिरहेका छन्। त्यसमा पनि सबैभन्दा बढी सङ्क्रामक भनिएको डेल्टा भेरिअन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो भेरियन्ट झन्डै ५० देखि ६० प्रतिशत बढी सङ्क्रामक रहेको सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्। यस्तो सङ्क्रमणशीलता धेरै भएको भेरिअन्ट थोरै भुलचुक हुँदा समेत सर्न सक्ने भएकाले मास्क नलगाई हिँडडुल गर्न सकिने अवस्था नरहेको विज्ञहरूको मत छ।

दुई मात्रा लगाएका मानिसलाई खोपले थेग्ने र उनीहरू सिकिस्त हुन सक्ने सम्भावना कम हुने वताएका सुवेदीले रोग प्रतिरोधी क्षमता कम भएकाले खोप लगाए पनि खोपले काम नगर्ने हुन सक्ने वताए । 

नेपालमा हालसम्म २४ लाख २२ हजार जनाभन्दा केही बढी मानिसले कोभिड खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने ६,९१,४९४ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन्। नेपालमा लगाइएका खोपहरूको प्रभावकारिता कति छ र तिनले कति एन्टिबडी बनाए भन्ने कुरा हेर्न सकिने अवस्था नरहँदा नेपालमा ढुक्कसँग मास्क नलगाउन सिफारिस गर्न नसकिने इपिडियोमोलजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) पूर्व निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

ईडीसीडीका अर्का पूर्वप्रमुख बाबुराम मरासिनीका अनुसार “प्रयोगात्मक हिसाबले आएका खोपहरूले“ कति समय काम गर्छन भन्ने कुरा ठ्याक्कै निर्क्योल भई नसकेको अवस्थामा एक पटक मास्क खोलिसकेपछि सर्वसाधारणहरूलाई पुनः मास्क लगाउनुपर्ने रहेछ भन्न गाह्रो हुने तर्क गर्छन्।

“दुवै खोप लगाइएकालाई पनि फाट्टफुट्ट सङ्क्रमण हुने तर धेरै अप्ठेरो सङ्क्रमण नहुने भन्ने कुरा आइरहेको छ। त्यस कारण मास्क लगाइराख्नु नै उचित हुन्छ,“ मरासिनीले भने।

दुवै मात्रा खोप लगाएका मानिसहरूको भेट हुँदा “मास्कको जरुरत कम पर्ने सक्ने“ चिकित्सकहरू बताउँछन्। तर उनीहरू आफैँ सङ्क्रमणका कारण बिरामी नहुने भए पनि अरूलाई सार्न सक्ने डा. सुवेदीको भनाइ छ।

नेपालको ठूला सहर संसारकै सबैभन्दा प्रदूषित स्थानमा पर्ने हुँदा यी क्षेत्रमा बस्नेहरूले सामान्य अवस्थामा पनि मास्क प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। यस्ता ठाउँमा साधारण मास्क मात्रै नभएर एन९५ मास्क नै लगाउनुपर्नेमा उनीहरूको जोड छ।

पाण्डेका अनुसार खोप लगाएका व्यक्तिहरूले “सुपर स्प्रेडर“ बनेर अरूलाई सङ्क्रमण सार्न सक्ने अवस्था रहन सक्छन्।

त्यस कारण पनि “सीरोप्रेभलन्स“’ अध्ययन वा खोप प्राप्त गरिसकेका केही व्यक्तिहरूलाई छनोट गरेर कति एन्टिबडी बस्छ (खोपबाट), उनीहरूले सार्न (सङ्क्रमण) सक्ने अवस्था छ छैन भन्ने अध्ययन नगरी अरूकै जस्तो गरी मास्क नलगाउन नमिल्ने उनी बताउँछन्।

मास्क लगाउँदा श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्या वा शरीरलाई चाहिने अक्सिजन अपुग हुने भन्ने नहुने सुवेदी वताउँछन् । 
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार विगतमा एउटा मास्क लगाउने गरिएकामा पछिल्लो समय दुई वटा लगाउन भनिएको छ।

दुइटा मास्क लगाउँदा कोरोनाभाइरसबाट जोगिने विषयमा केही न केही प्रभावकारी रहेको उनी बताउँछन्।
बीबीसीको सहयोगमा

विशेष