News

ओली र नेपाल पक्षका नेताको लामो छलफलः बन्द भएको ढोका खुलेको प्रतिक्रिया

ओली र नेपाल पक्षका नेताको लामो छलफलः बन्द भएको ढोका खुलेको प्रतिक्रिया

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोश्रो तहका नेताहरूबीच चार घन्टा लामो छलफल भएको छ ।

 

सोमबार राति दरबारमार्गस्थित एक होटलमा पार्टी एकताबारे ओली र नेपाल पक्षका नेताको चार घण्टा लामो छलफल भएको छ ।


पार्टीको विवाद समाधानका लागि दुबै तर्फबाट ५–५ जना नेता सहभागी कार्यदल बनेको भए पनि यसको बैठक धेरै समयदेखि बस्न सकेको थिएन ।


छलफलपछि बैठकमा सहभागी एक नेताले भनेकाछन्, ‘हामीले पार्टी एकतबारे लामो छलफल गरेका छौं । छलफलका लागि बन्द भएको ढोका खुलेको छ । अब हामी दुबै पक्षले आफ्ना नेताले यसबारे जानकारी गराउछौं । यो छलफल अनौपचारिक भएकाले धेरै विषयमा कुराकानी भए । तर मुख्य विषय पार्टीलाई जेठ २ मा फर्काउने विषय नै महत्वपूर्ण हो ।’

नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को संगठनात्मक संरचनामा फर्काउने अडान लिदै आएको छ । तर ओली भने त्यसका लागि तयार भएका छैनन् । ओलीले नेपाल पक्षका नेताहरूलाई पटक–पटक कारबाही गरिसकेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित नेताहरू मुकुन्द न्यौपाने, भीम रावललगायत १३ सांसदलाई पार्टीबाट निश्कासन गरिसकेका छन् । पार्टी नेता एवम् सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १२ जनालाई ओलीले २४ घन्टे स्पष्टीकरण सोधेका छन् । कुनैपनि नेताले स्पष्टीकरणको जवाफ भने दिएका छैनन् ।


वार्तामा नेपाल पक्षका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए । ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी थिए ।


प्रधानमन्त्री ओली तर्फबाट उपप्रधानमन्त्री एंव एमाले महासचिव ईश्वर पोखरेलले पनि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई पटक–पटक भेट गरिसकेका छन् । खनाल निवास डल्लु र नेपाल निवास कोटेश्वर पुगेर पोखरेलले गरेको अनौपचारिक छलफलले सकारात्मक निकास निकाल्न सकेको छैन ।


यसैबीच अहिले बस्ने स्थायी कमीटी बैठकमा ओली पक्षीय नेताहरूले नेपाल पक्षीय नेताहरूसँग भएको छलफलबारे ब्रिफिङ गर्दैछन्। आफूले खटाएका नेताहरूले गरेको ब्रिफिङबाट चित्त बुझे ओलीले अरू नेतालाई कारबाही गर्ने छैनन् । नेताहरूको ब्रिफिङबाट ओली असन्तुष्ट भए भने भुसाल र पाण्डेलगायत नेतामाथि थप कारबाही हुनसक्ने स्रोतको दावी छ ।
 

विशेष