News

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक आन्दोलित भएका छन् । आर्थिक अनियमितताबारे छानविन गर्न माग गरेका एक डाक्टरलाई जागिरबाट निस्काशन गर्ने धम्की आएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन।

प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानविन गरी दोषि उपर कारवाही गर्न माग गरेका थिए । 

भ्रष्टाचारको छानविन गर्न माग गरेपछि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले वीपी प्रतिष्ठानमा छापामारी खरिद सम्बन्धिका सबै कागजपत्र नियन्त्रणमा लिएको थियो । 

त्यासको भोलिपल्ट सोमबार पोखरेललाई जागिरबाट निस्कासन गर्ने धम्की दिएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेका छन् । आर्थिक अनियमितताले धरासायी बनेको प्रतिष्ठान बचाउन थालिएको अभियानलाई हस्तक्षेप गरी डाक्टरलाई जागिरबाट निस्काशन गर्न धम्की दिएको भन्दै प्रतिष्ठानका चिकित्सक मंगलबारदेखि आन्दोलित भएका छन् । 

आन्दोलनमा उत्रिएका प्रतिष्ठानका सिनियर, जुनियर डाक्टर र विद्यार्थीले उपकुलपति गिरीको कार्यकक्षमा धर्ना दिएका छन् । 

प्रतिष्ठान व्यवस्थापनविरुद्ध उत्रिएका फ्यागल्टी वेल्फेयर सोसाइटीका महासचिव सर्यप्रसाद रिमालले डा. पोखरेललाई सोधिएको स्पष्टिकरण चौविस घण्टाभित्र फिर्ता लिएर उपकुलपतिले सार्वजनिक माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
 

विशेष