News

बाढीपहिरो प्रभावित क्षेत्रमा खट्न प्रचण्डले दिए कार्यकर्तालाई निर्देशन

बाढीपहिरो प्रभावित क्षेत्रमा खट्न प्रचण्डले दिए कार्यकर्तालाई निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् ।


देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् । यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् ।


प्रचण्डले बुधबार सामाजिक संजाल फेसबुक मार्फत पे्रस विज्ञप्ती जारी गर्दै बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका हुन् । 


यस्तो छ प्रेस विज्ञप्तिको पुर्ण पाठ 
केही दिन अघिदेखि परेको अविरल बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । बाढी र पहिरोमा परी निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्दछु ।


बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।


मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो ।


हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु । यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु ।


बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।


०२ असार, २०७८
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

 

विशेष