News अपराध सुरक्षा

विआईएमा अपाङ्गको श्रम शोषण : संस्थापक रिम्पोछे भन्छन्– म ध्यानमा छु, कार्यालयमा सोध्नोस्

विआईएमा अपाङ्गको श्रम शोषण : संस्थापक रिम्पोछे भन्छन्– म ध्यानमा छु, कार्यालयमा सोध्नोस्

परिश्रम गरेर जिविका चलाउने कसैलाई पनि अन्याय नहोस भनेर सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । जस अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० पाउनै पर्ने गरी नियमहरु वनाईएका छन् ।

यति मात्र होईन, श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार त्यो परिश्रमिकमा पनि पुनर्मुल्याङ्कन गर्ने र प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जनाईएको छ। तर, राजधानीमै रहेको एउटा सामाजिक संस्थाले सेवा र संरक्षणका नाममा करिव ६ वर्षदेखि अपाङ्गता भएका १ सय जनालाई चरम श्रम शोषण गरेर राखेको पाईयो । विआईए नामको उक्त संस्थामा संरक्षण लिएका अपाङ्गता भएका ब्यक्तिहरुले महिना दिनसम्म काम गरे वापत मुस्किलले ४ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।

यस विषयमा नेपाल आजले गत जेष्ठ ३० र ३१ गते गरी दुई वटा समाचार पनि प्रकाशन गर्यो। तर, संस्थामा भईरहेको अन्याय र ज्यादतीलाई सुधार गर्ने भन्दा पनि अपाङ्गता भएका ब्यक्तिहरुलाई नै धम्क्याउने काम भयो । ब्यवस्थापक गोकर्ण ढुङ्गानाले अपाङ्गता भएका ब्यक्तिहरुलाई फोन गरेर ‘मिडियामा किन वोलेको ? आईन्दा यसरी मिडियामा वोल्यो भने निकाली दिन्छु’ भन्दै धम्की दिनसम्म भ्याए । ढुङ्गानाको हप्की र दप्कीपछि त्यहाँ संरक्षण लिएका ब्यक्तिहरु अहिले कुन दिन निस्कनु पर्ने हो भनेर थर्कमान भएका छन् ।

हुन त विआईए देशभरीका अपाङ्गता भएका ब्यक्तिहरुलाई सेवा दिने उदेश्यले स्थापना भएको संस्था हो । तर, उदेश्य अनुसारका देशब्यापी सेवा त दिन सकेन नै राजधानीमा समेटिएको एउटा संस्थामा पनि यो अवस्था देखिएपछि नेपाल आजले संस्थाका संस्थापक तथा संस्था संचालनका लागि आर्थिक सहयोग गर्दै आएका छोग्याल रिम्पोछेसँग पनि सम्पर्क गरेको थियो । संस्थाका विषयमा जानकारी लिन खोज्दा उनले पनि जवाफ दिन चाहेनन् । आफु ‘ध्यानमा रहेको’ भन्दै उनले फोन काटे । तर, फोन काट्नु भन्दा अगाडि उनले कार्यालयमा सम्पर्क गर्न सुझाव दिए । उनको यो सुझावले संस्थाको सम्पुर्ण ब्यवस्थापन ब्यवस्थापक ढुङ्गानाकै जिम्मामा रहेको र अहिले भईरहेको गतिविधिमा रिम्पोछेको पनि संरक्षण रहेको स्पष्ट देखिन्छ । 

छोग्याल रिम्पोछेले तिनै ब्यक्ति हुन, जस्ले जनवरी ४, २०१५ मा ‘जनवरी ३ सुन्दर दिन रहेको’ भन्दै एउटा फेसबुक स्ट्याटस लेखका थिए । उक्त दिनमा 'विआईए लेट्स ज्वाईन ह्याण्डस' नाम गरेको कार्यक्रम आयोजना गरिएको थियो। स्वदेशी तथा चीनियाँलगायत बिदेशी स्वयमसेबकसहित करिब ३ सय अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख आतिथीका रुपमा निवर्तमान परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली उपस्थित थिए ।

रिम्पोछे खासमा नेपाललाई आफ्नो सामाजिक तथा धार्मिक कामको केन्द्र बनाउन चाहन्थे। विआईए मार्फत नेपालमा सम्भाब्यताको आधारमा अपांगता भएका ब्यक्तीहरको प्रपोजल छनौट गर्ने, उक्त प्रपोजललाई प्रोजेक्टको रुपमा सन्चालनको ब्यवस्था गर्ने र विभिन्न ग्रुपहरु वनाएर प्रोजेक्ट सञ्चालन गर्ने उदेश्य राखिएको थियो ।

उक्त कार्यक्रममा ७ प्रोजेक्ट छानिएका थिए। रिम्पोछेको इच्छाअनुसार थप पाँच बटा प्रोजेक्ट थपेर १२ वटा प्रोजेक्ट सन्चालन गर्ने घोषणा गरिएको थियो । जसका निम्ति तत्काल १४६ जना अपांगता भएका ब्यक्तिहरुलाई छनौट गरिएको थियो भने थप अन्य ब्यक्तिलाई पनि समेट्दै जाने घोषणा रिम्पोछेले गरे।

प्रोजेक्टले अपाङ्गता भएका ब्यक्तीलाई सीप सिकाउने, रोजगार दिने र आएको आम्दानीको ठूलो हिस्सा उनिहरुलाई नै बाड्ने उदेश्य राखेको थियो । बाँकी पैसाले देसको कुना कन्दरामा, गाउँदेखि सहरसम्म सबै जिल्लामा प्रोजेक्ट सञ्चालन गर्ने र अपांगता भएका ब्यक्तिलाई सहयोग गर्ने योजना वनाईएको थियो ।

तर, उनको यो उदेश्य पुरा हुन सकेको त छैननी। सुरुवातका रुपमा ल्याईएका अपाङ्गता भएका ब्यक्तिलाई पनि अनाहकमा दुःख दिने र तिनै ब्यक्तिको अवस्थालाई भजाएर रकम संकलन गर्ने थलो वनाईएको जानकारहरु वताउँछन् ।

विआईएमा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई सिप प्रदान गरेर थान्का, मुर्ति गलैँचा, डोका, मुर्ति आदि उत्पादन गर्ने गरिन्छ। उनीहरुले उत्पादन गरेका धूप, थान्का, एप्लिक, बाँसका डोका, डाला, मूर्ति, पस्मिनाका सल, गलैँचाजस्ता सामानहरु भने बिआइए इन्स्टिच्युटले विक्रि गर्दछ । विआइएको नारायणटार शाखामा करिब चालिस जना अशक्त व्यक्तिहरु सिप सिकेर सामान उत्पादन गर्ने गर्दछन् ।

आफैमा शारिरिक रुपमा अशक्त व्यक्तिहरुले दिनभरी कडा मिहिनेतका साथ उत्पादन गरेका सामानहरुको उचित ज्याला भने पाएकाछैनन् । आफ्नो मेहनत अनुसारको ज्याला नपाएका कारण अशक्त व्यक्तिहरु संस्थाको व्यवस्थापन प्रति रुष्ट छन् । जति धेरै मिहिनेतका साथ काम गरेपनि व्यवस्थापकले अशक्तहरुलाई महिनामा प्रतिव्यक्ति चारहजार मात्रै दिने गरेको उनीहरुको गुनासो छ । 

ब्यवस्थापक ढुङ्गानाले भने विआईएमा अपाङ्गता भएका ब्यक्तिको श्रम शोषण भएको र उनीहरुलाई दुःख दिईएको कुरा अस्विकार गरेका छन् । ‘विआईएको उदेश्य भनेको अपाङ्गता भएका ब्यक्तिहरुलाई पालेर राख्ने होईन, सिप सिकाउनु हो। उनीहरुलाई सिप प्रदान गरिएको छ। तर वहाँहरुले विआईए छोडन सक्नु भएको छैन’ उनले भने–‘भएकाहरुले छोडपछि पो हामीले अन्य ब्यक्तिलाई ल्याएर सिप सिकाउने हो ।’

विआईएमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको श्रम शोषण भएको विषयमा थप प्रस्ट पार्दै उनले भने–‘हामीले वहाँहरुलाई तलव दिएको होईन, काम गरे वापतको इन्सेन्टिभ दिएको हो।’

यो पनि

विआईएका अशक्तमाथि ब्यवस्थापकको ज्यादतीः मिडियामा वोल्नेलाई निकाली दिने धम्की

दुःख देखाएर चन्दाको ब्यापार गरिएकोमा अपाङ्गता भएकाहरुको प्रचन्ड आक्रोश

विआईए अपाङ्गता भएका ब्यक्ति छोग्याल रिम्पोछे श्रम शोषण

विशेष