News

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राखेको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गरेका थिए। आजको बैठकमा ५८ सदस्य उपस्थित थिए।

मुख्यमन्त्रीलाई उनको दल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र सदस्य राजीव गुरुङले समर्थन गरेका थिए। प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का २७ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज मत लिएका हुन । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएको खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ ।

सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उनले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्ने मुख्यमन्त्री स्रोतले जनाएको छ । मुख्यमन्त्रीमा शपथ लिँदा उहाँले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गर्नुभए पनि उनीहरुको कार्यविभाजन बाँकी रहेको छ । 
 

विशेष