News

मेलम्चीमा वाढिको वितण्डाः हिमताल विस्फोट भएर आएको हो वाढि?

मेलम्चीमा वाढिको वितण्डाः हिमताल विस्फोट भएर आएको हो वाढि?

अचानक आएको वाढिले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहस नहस भएपछि अचानक यस्तो बाढी कसरी आयो भनेर विभिन्न अड्कलवाजी भईरहेका छन् ।

हिमताल विस्फोट भएकाले वाढि आएको हो की भन्ने आशंका पनि गरिएको छ । तर त्यस विषयमा सरकारी निकाय र विज्ञहरूले भने यो विषयलाई सत्य मानिहाल्न नसकिएको प्रतिक्रिया दिएका छन् ।

पहिरोले माथिल्लो भेगमा केही समय नदीको प्रवाह रोकेको र त्यसैको कारण बाढी आएको निष्कर्षनजिक सरकारी निकायहरु पुगेका छन् ।

मेलम्ची क्षेत्रमा गत जेठ २९ गते सबैभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । त्यस दिन करिब ९० मिलिमिटरको हाराहारीमा पानी परेको र त्यसपछिका दिनमा हरेक दिनजसो हल्का वर्षा भईरहेको बताइएको छ।

घटना भएको दिन शाखामा लगभग ५ः४० देखि ६ः४० बजेसम्म खोलाको सामान्य स्वरूपबाट स्वाट्टै घटेको र त्यसपछि फेरि एकैपटक बढेको देखिएकाले खोला थुनिएर फेरि खुलेको अवस्थामा त्यस्तो हुने शाखाको भनाई छ।

पहिरो गएको दिन अर्थात् असार १ गते सबैभन्दा बढी २९.२ मिलिमिटर वर्षा भएका हुनाले त्यसअघि नै पहिरो गएको हुन सक्ने सरकारी पक्षको भनाइ छ। नकोटेस्थित सरकारी केन्द्रभन्दा केही माथि पहिरो गएको बुझिएको छ।

प्राकृतिक प्रकोपका हिसावले सिन्धुपाल्चोक ‘जोखिमको केन्द्रबिन्दु’ मानिदै आएको छ । ठूलो वर्षा र पहिरोका कारण आउने बाढीले विभिन्न समयमा सिन्धुपाल्चोकमा समस्या गराइरहने गरेको स्थानीयको अनुभव छ । अहिलेसम्मको अवस्था हेर्दा पहिरोले नदी थुनेको र त्यसपछि बाढी आएको उनीहरुको बुझाइ छ।

अवस्था हेर्दा माथिल्लो जलाधार क्षेत्रमा पानी परेको र भूकम्पले हल्लाएको भूभाग भएकाले पहिरो आएको हुन सक्ने स्थानीयको अनुमान छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठले उक्त क्षत्रेको माथिल्लो भागमा हिमताल नदेखिएको जानकारी दिए। केही हिमनदीहरू भने देखिएको उनले वताए । हिमताल फुटेर आएको भए एकैपटक पानी बढ्नुपर्ने र एकनासै बढ्नुपर्ने भए पनि त्यस्तो अवस्था नदेखिएको उनले जानकारी दिए।
बीबीसीको सहयोगमा

मेलम्ची पहिरो वाढि हिमताल विस्फोट

विशेष