News Technology

नेपालको पहिलो भु-उपग्रह 'नेपाली स्याट-१' जलेर खरानी हुँदै 

नेपालको पहिलो भु-उपग्रह 'नेपाली स्याट-१' जलेर खरानी हुँदै 

नेपालले अन्तरिक्षमा पठाएको पहिलो भु-उपग्रह 'नेपाली स्याट-१' अबको ७१ दिन अर्थात् अगस्ट २४ मा जलेर खरानी हुने भएको स्याटेलाइटका निर्माणकर्ता एवं नास्टका इन्जिनियर हरिराम श्रेष्ठले एक मिडियासँग बताएका छन् । 


उनले भनेका छन्, ‘बार्ड–३ मिसनअन्तर्गत छाडिएको यो क्युब स्याटको आयु ६ महिना भनिएको थियो । स्याटेलाइटले अन्तरिक्षमा २ वर्ष पूरा गर्याे । अबको ७१ दिन अर्थात् अगस्ट २४ मा नेपाली स्याटेलाइट जलेर खरानी हुन्छ ।’


६ महिनासम्म मात्रै काम गर्न सक्ने भनिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ ले बिहीबार दुई वर्ष पूरा गरेको बताइएको छ ।  सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानाको इगुसु स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएको थियो ।


सुरुमा पृथ्वीको सतहदेखि ४ सय २० किलोमिटरमाथि घुमिरहेको नेपालको झन्डा अंकित स्याटेलाइट पछिल्लो समय पृथ्वीतर्फ झर्दै गइरहेको छ । बिहीबार नेपाली स्याटेलाइट पृथ्वीदेखि ३ सय ३० किलोमिटर माथि घुमिरहेको थियो ।


अन्तरिक्षमा नेपाली स्याटेलाइटले ७ सय ३० दिन बिताइसकेको छ । त्यसले पृथ्वीलाई ११ हजार ४ सय पटक फन्को लगाएको श्रेष्ठले बताएकाछन् । स्याटेलाइट अबको अढाई महिनाभित्रमा ध्वस्त हुँदै छ । ‘हाम्रो प्रेडिक्सनअनुसार नेपाली स्याटेलाइटले अब ११ सय ४३ पटक मात्रै पृथ्वीलाई फन्को लगाउन पाउँछ,’ । 


स्याटेलाइटको आयु सकिँदै जाँदा क्षमता पनि घट्ने गर्छ । पृथ्वीको गुरुत्व बलको प्रभावले स्याटेलाइट विस्तारै पृथ्वीतिर झर्न थालेको उनले बताए । ‘पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि घर्षणका कारण स्याटेलाइट जलेर पूरै खरानी हुन्छ,’ उनले भने, ‘तीव्र गतिमा घुमिरहेको स्याटेलाइटलाई पृथ्वीको गुरुत्व बलले आफूतिर तान्दा हावासँग धेरै घर्षण हुन्छ, जसका कारण स्याटेलाइट जलेर खरानी नै हुन्छ ।’

स्याटेलाइट मिसन शतप्रतिशत सफल भएको अर्का निर्माणकर्ता आभास मास्केले बताए । उनले भने, ‘नेपालसँगै प्रक्षेपण गरिएका ३ वटै स्याटेलाइट अहिले पनि राम्रोसँग चलिरहेका छन् । यसले नेपाललाई स्पेस आउटरिचका लागि राम्रो अनुभव पनि दिलायो ।’
 

नेपाली स्याट-१

विशेष